
काठमाडौं ।
ग्रीसको नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्याका कारण हवाई क्षेत्रको रेडियो फ्रिक्वेन्सी बन्द भएपछि आइतबार विमानस्थलहरूमा उडानहरू रद्द वा ढिलाइ भएको बताएको छ।
ग्रीसको एथेन्सस्थित एलेफ्थेरिओस भेनिजेलोस विमानस्थलमा उडान अवरोधपछि अलपत्र यात्रुहरू लामो लाइनमा सेवाको पर्खाइमा बसिरहेका देखिन्थ्यो।
प्राविधिक समूयापछि धेरै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिलो भएका थिए वा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोकिएका थिए। विमानस्थलमा पहिलो पटक रेडियो फ्रिक्वेन्सीको अवरोध आइतबार बिहान ७ः०० बजेतिर भएको बताइएको थियो।
“प्राविधिक समस्यापछि ग्रीसले कम्तिमा दुई घण्टाको लागि कुनै पनि विमानलाई अवतरण वा उडान गरेन,” एथेन्स एयरपोर्टको प्रेस कार्यालयले जानकारी गराएको छ। उक्त विमानस्थलबाट सन् २०२५ को पहिलो ११ महिनामा तीन करोड १० लाख ६० हजार यात्रुहरूले ट्रान्जिट गरेका थिए।
ग्रीसको सार्वजनिक टेलिभिजन इआरटीका अनुसार ग्रीसको विमानस्थलतर्फ जाने अधिकांश विमानलाई तीन घण्टासम्म टर्कीतर्फ पठाइएको थियो। अधिकारीहरूका अनुसार ग्रीनविच समयअनुसार बिहान ११ बजेपछि हवाई यातायात क्रमिक रूपमा सुचारु भइरहेको छ। ग्रीसको एयर ट्राफिक कन्ट्रोलर युनियनका प्रमुख पानागियोटिस सारोसले समस्यालार्ई ‘अत्यन्त गम्भीर’ घटना भने।-रासस/एएफपी
प्रकाशित: २१ पुष २०८२, सोमबार