
काठमाडौं ।
रियलमीले आधिकारिक रूपमा रियलमी नियो ८ यसै महिना चीनमा सार्वजनिक हुने पुष्टि गरेको छ। नाम पुष्टि गर्नुका साथै कम्पनीले यस फोनमा प्रयोग हुने चिपसेटको नाम पनि सार्वजनिक गरेको छ।
रियलमी नियो ८ क्वालकमको स्न्यापड्रागन ८ जेन ५ प्लेटफर्ममा आधारित हुनेछ। यही चिपसेट आउँदै गरेको आइक्यूओओ जेड११ टर्बो र चीनमा पहिले नै उपलब्ध वनप्लस एस ६टी मा पनि प्रयोग गरिएको छ।
गिज्मोचाइनाका अनुसार कम्पनीले सार्वजनिक गरेको प्रदर्शन विवरणअनुसार रियलमी नियो ८ ले एनटुटुमा ३५ लाख ८० हजारभन्दा बढी अंक प्राप्त गरेको छ। यसले यसलाई आफ्नै सेग्मेन्टका उच्च स्कोर गर्ने एन्ड्रोइड फोनमध्ये एक बनाएको छ।
रियलमीका अधिकारीहरूका अनुसार यो फोन नयाँ पुस्ताको गेमिङ केन्द्रित फ्ल्यागशिपका रूपमा प्रस्तुत गरिएको हो, जहाँ छोटो समयको उच्च प्रदर्शनभन्दा पनि स्थिर फ्रेमरेट र ताप नियन्त्रणमा जोड दिइएको छ।
लीक र आधिकारिक टिजरअनुसार रियलमी नियो ८ मा ६.७८ इन्चको फ्ल्याट सामसङ एमोलेड डिस्प्ले हुनेछ, जसको रिजोलुसन १.५के हुनेछ। यसमा १ हर्जदेखि १६५ हर्जसम्मको अड्याप्टिभ रिफ्रेस रेट सपोर्ट रहने बताइएको छ।
स्क्रिनमा उच्च–फ्रिक्वेन्सी पीडब्लुएम डिमिङ पनि हुनेछ, जसले लामो समय प्रयोग गर्दा आँखाको आराम बढाउनेछ। फोनमा ठूलो सेन्सरसहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहने अपेक्षा गरिएको छ।
इन्टरनेटमा देखिएको लिक तस्बिरले रियलमी नियो ८ मा मेटल फ्रेम र माथिल्लो बायाँ भागमा राखिएको चारकुने क्यामरा मोड्युल देखाएको छ। तस्बिरमा क्यामेराको छेउमा ‘अवेकिनिङ हेलो’ नामको विशेष लाइटिङ एलिमेन्ट पनि देखिन्छ, जुन कल र नोटिफिकेसनका बेला गतिशील रूपमा बल्नेछ।
फोनमा ८ हजार एमएएच क्षमताको ब्याट्री रहनेछ जसले ८० वाट वायर्ड चार्जिङ र बाइपास चार्जिङ सपोर्ट गर्नेछ। लामो गेमिङ सेसनमा ताप नियन्त्रणमा राख्न यसले मद्दत गर्ने बताइएको छ। साथै, फोनमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट प्रमाणीकरण र आईपी६८/६९ धुलो तथा पानी प्रतिरोधी बडी पनि रहने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ पुष २०८२, सोमबार