
काठमाडौं ।
गत वर्ष नर्वेमा दर्ता भएका लगभग सबै नयाँ सवारीसाधन पूर्ण रूपमा इलेक्ट्रिक रहेका शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले देखाएको छ। यसले पेट्रोल र डिजेल इन्जिनबाट चल्ने कार परित्यागतर्फको संक्रमणमा यो युरोपेली देश अग्रपंक्तिमा रहेको स्पष्ट संकेत गर्छ।
ठूलो तेल उत्पादक देश भए पनि नर्वेले युरोपका अन्य मुलुकहरूको तुलनामा ब्याट्रीबाट चल्ने सवारीसाधनतर्फ तीव्र संक्रमण गरेको छ। युरोपेली संघमा माग कमजोर भएपछि ब्रसेल्सले हालै सन् २०३५ देखि आन्तरिक दहन इन्जिन भएका सवारीसाधन प्रतिबन्ध लगाउने योजना रद्द गरेको थियो।
टेलिग्राफका अनुसार नर्वेजियन रोड ट्रान्सपोर्ट फेडेरेसन (ओएफभी) का अनुसार सन् २०२५ मा दर्ता भएका नयाँ सवारीसाधनमध्ये ९५.९ प्रतिशत इलेक्ट्रिक थिए, जुन सन् २०२४ को ८८.९ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।
सन् २०२५ को डिसेम्बर महिनामा मात्र देशमा बिक्री भएका कारमध्ये ९८ प्रतिशत इलेक्ट्रिक थिए। समग्रमा नर्वेमा १ लाख ७९ हजार ५४९ नयाँ सवारीसाधन दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो।
पछिल्ला पाँच वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड टेस्ला नै रहँदै आएको छ, जसको बजार हिस्सा करिब १९.१ प्रतिशत छ। त्यसपछि फक्सवागन र भोल्भो छन्। चिनियाँ उत्पादनका सवारीसाधनले पनि आफ्नो बजार हिस्सा बढाएका छन्, जसमा बीवाईडीले नर्वेमा आपूर्ति गर्ने कारको संख्या झन्डै दोब्बर बनाएको छ।
नर्वे सरकारले इलेक्ट्रिक सवारीसाधन खरिदलाई प्रोत्साहन गर्ने कर नीतिहरू लागू गरेको छ। निश्चित मूल्यभन्दा कमका साना इलेक्ट्रिक सवारीसाधनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको छ, र यो नीति सन् २०२६ सम्म निरन्तर रहने अपेक्षा गरिएको छ। यसले साना इलेक्ट्रिक कारको बिक्री अझ बढाउने अनुमान गरिएको छ।
प्रकाशित: २१ पुष २०८२, सोमबार