‘अश्लील’ सामग्री उत्पादन गरेको भन्दै भारतद्वारा ग्रोक च्याटबोटलाई प्राविधिक र प्रक्रियागत परिवर्तन गर्न आदेश

  • Technology Khabar | २१ पुष २०८२, सोमबार
‘अश्लील’ सामग्री उत्पादन गरेको भन्दै भारतद्वारा ग्रोक च्याटबोटलाई प्राविधिक र प्रक्रियागत परिवर्तन गर्न आदेश

काठमाडौं ।

भारतले अर्बपति ईलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई यसको एआई च्याटबोट ग्रोकमा तुरुन्त प्राविधिक र प्रक्रियागत परिवर्तन गर्न आदेश दिएको छ।

प्रयोगकर्ता र सांसदहरूले ग्रोकले “अश्लील” सामग्री उत्पादन गरेको भन्दै चिन्ता उठाएपछि यो आदेश दिइएको हो। यसमा एआई प्रयोग गरेर महिलाहरूका तस्बिर परिवर्तन गरी बनाइएका आपत्तिजनक तस्वीरसमेत समावेश छन्।

टेकक्रञ्चका अनुसार शुक्रबार भारतको सूचना प्रविधि मन्त्रालयले ग्रोकसम्बन्धी सुधारात्मक कदम चाल्न एक्सलाई निर्देशन दिएको छ। आदेशअनुसार नग्नता, यौनिकरण, यौन रूपमा स्पष्ट वा कानुनविपरीत सामग्री उत्पादन र प्रसारणमा कडाइ गर्नुपर्नेछ।

साथै, यस्ता सामग्रीको होस्टिङ वा प्रसार रोक्न के–कस्ता कदम चालिएका छन् भन्ने विवरणसहित ७२ घण्टाभित्र ‘एक्सन टेकन रिपोर्ट’ बुझाउन पनि मन्त्रालयले भनेको छ।

मन्त्रालयको आदेशमा उल्लेख भएअनुसार यदि पालना नगरे एक्सले भारतको कानुनअनुसार प्रयोगकर्ताद्वारा सिर्जित सामग्रीका लागि पाउने ‘सेफ हार्बर’ संरक्षण गुमाउन सक्नेछ, जसले कानुनी दायित्वबाट दिइने छुट खोसिन सक्छ।

प्रयोगकर्ताहरूले ग्रोक प्रयोग गरेर मुख्यतः महिलाहरूका तस्बिर परिवर्तन गरी बिकिनी लगाएको जस्तो देखिने बनाइएको उदाहरणहरू सार्वजनिक गरेपछि भारतको यो कदम आएको हो। यस विषयमा सांसद प्रियंका चतुर्वेदीले औपचारिक उजुरी पनि दर्ता गराएकी थिइन्।

यसैबीच, केही रिपोर्टहरूले ग्रोकले नाबालिगसम्बन्धी यौनिक तस्बिरसमेत उत्पादन गरेको उल्लेख गरेका थिए, जुन एक्सका अनुसार सुरक्षा व्यवस्थामा कमजोरीका कारण भएको थियो। ती तस्बिरहरू पछि हटाइएको एक्सले जनाएको छ।

यो पछिल्लो आदेश भारतको सूचना प्रविधि मन्त्रालयले यसै हप्ता सोमबार सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जारी गरेको व्यापक परामर्शपछि आएको हो। उक्त परामर्शमा अश्लील तथा यौन रूपमा स्पष्ट सामग्रीसम्बन्धी स्थानीय कानुनको पालना नगरे कानुनी प्रतिरक्षा कायम नहुने स्मरण गराइएको थियो।

कम्पनीहरूलाई आन्तरिक सुरक्षा प्रणाली बलियो बनाउन आग्रह गर्दै, पालना नगरे भारतको आईटी तथा फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको थियो।

“माथि उल्लेखित प्रावधानको पालना नगरे गम्भीर रूपमा लिइनेछ र कुनै थप सूचना बिना नै तपाईंको प्लेटफर्म, त्यसका जिम्मेवार अधिकारीहरू तथा कानुन उल्लङ्घन गर्ने प्रयोगकर्तामाथि कडा कानुनी कारबाही हुन सक्छ,” आदेशमा चेतावनी दिइएको छ।

प्रकाशित: २१ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...