नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँः मन्त्री खरेल

  • Technology Khabar | २० पुष २०८२, आईतवार
नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँः मन्त्री खरेल

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन्। ‘आइसिटी अवार्ड–२०२५’ का विजेतासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे।

सञ्चारमन्त्री खरेलले भने, “डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्था नै हो ”

मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयको रूपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाए। उनले सूचना प्रविधिको विकासका लागि बजेट पर्याप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको कार्यान्वयनमा सिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गरे।

सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै मन्त्री खरेलले डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिए। अवार्ड विजेतासँग मन्त्रालयले अन्तरक्रिया गरेर राज्यले यस क्षेत्रप्रति सम्मान गरेको उनले बताए।

मन्त्री खरेलले भने, “निजी क्षेत्रबाट कुनै संस्थाको अग्रसरतामा तपाईहरु सम्मानीत हुनुभएको छ, जहाँ सरकार जोडिएकै हुन्छ, त्यसैले यो सम्मान राज्यको सम्मान हो । तपाईहरुको सवाल डेढ घण्टासम्म सुनेर ग्रहण गरेका छौँ ।”

मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारसँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए।

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताए। आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उनको आग्रह थियो । रासस

प्रकाशित: २० पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...