
काठमाडौं ।
स्पेसएक्सले सन् २०२६ को पहिलो मिसन जनवरी २ को राति प्रक्षेपण गरेको छ।
फाल्कन ९ रकेटले क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९:०९ बजे ईएसटी (स्थानीय समय अनुसार साँझ ६:०९ बजे; जनवरी ३ मा ०२:०९ जीएमटी) उडान भरेको हो। उक्त रकेटले इटालीको पृथ्वी अवलोकन गर्ने एक उपग्रह कक्षामा पुर्याएको छ।
स्पेस डटकमका अनुसार रकेटको पहिलो चरण उडानपछि करिब ८.५ मिनेटमा योजनाअनुसार भ्यान्डेनबर्गमै अवतरण गरेको थियो। स्पेसएक्सका अनुसार यो बुस्टरको २१औँ उडान थियो।
त्यसको करिब ४.५ मिनेटपछि फाल्कन ९ को दोस्रो चरणले पेलोड — कोस्मो–स्काइमे्ड सेकेन्ड जेनेरेसन उपग्रहलाई न्यून पृथ्वी कक्षामा तैनाथ गरेको हो। यो उपग्रह इटालियन स्पेस एजेन्सी र इटालियन रक्षा मन्त्रालयका लागि प्रक्षेपण गरिएको हो।
यो अन्तरिक्षयानले सिन्थेटिक अपर्चर रडार प्रयोग गरेर पृथ्वीको अध्ययन गर्नेछ। ३८५ माइल (६२० किलोमिटर) उचाइबाट यसले दिन–रात र सबै मौसममा डाटा संकलन गर्नेछ। युरोपेली अन्तरिक्ष एजेन्सीको व्याख्याअनुसार कोस्मो–स्काइमे्ड सेकेन्ड जेनेरेसन सानो नेटवर्क हो, जसको उद्देश्य “आपतकालीन जोखिम न्यूनीकरण, रणनीति, वैज्ञानिक र व्यावसायिक प्रयोजनका लागि पृथ्वीको निगरानी गर्नु, र विभिन्न प्रयोगलाई सहयोग गर्न विश्वव्यापी रूपमा डेटा उपलब्ध गराउनु” हो।
उक्त व्याख्यामा जोखिम व्यवस्थापन, नक्साङ्कन, वन तथा वातावरण संरक्षण, प्राकृतिक स्रोतको खोज, भूमि व्यवस्थापन, रक्षा तथा सुरक्षा, समुद्री निगरानी, खाद्य तथा कृषि व्यवस्थापनजस्ता प्रयोगहरू पनि समेटिएका छन्।
अहिलेसम्म तीनवटा कोस्मो–स्काइमे्ड सेकेन्ड जेनेरेसन उपग्रह प्रक्षेपण भइसकेका छन्। पहिलो सन् २०१९ को डिसेम्बरमा सोयुज रकेटमार्फत उडाइएको थियो भने दोस्रो सन् २०२२ को जनवरीमा फाल्कन ९ बाट प्रक्षेपण गरिएको थियो।
उक्त प्रक्षेपण सन् २०२६ मा स्पेसएक्सका लागि मात्र नभई विश्वव्यापी प्रक्षेपण समुदायका लागि पनि पहिलो थियो। नयाँ वर्षको सुरुवात स्पेसएक्सले गर्नु कुनै आश्चर्यको कुरा होइन।
इलन मस्कको कम्पनीले सन् २०२५ मा १६५ वटा कक्षीय मिसन प्रक्षेपण गरेको थियो, जुन व्यावसायिक वा सरकारी कुनै पनि संस्थाभन्दा धेरै हो। यो स्पेसएक्सकै लागि पनि कीर्तिमान थियो र कम्पनीले यो वर्ष फेरि तोड्ने लक्ष्य राख्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २० पुष २०८२, आईतवार