फक्सवागनले आईडी.पोलो ईभीमार्फत ड्यासबोर्डमा फेरि भौतिक बटनहरू फर्काउने

  • Technology Khabar | २० पुष २०८२, आईतवार
फक्सवागनले आईडी.पोलो ईभीमार्फत ड्यासबोर्डमा फेरि भौतिक बटनहरू फर्काउने
फाइल तस्बिर

काठमाडौं ।

फक्सवागनले आईडी.पोलो ईभी मार्फत ड्यासबोर्डमा फेरि भौतिक बटनहरू फर्काउने तयारी गरेको छ। युरोपमा यसै वर्षपछि सार्वजनिक हुने तय गरिएको आईडी.पोलो को इन्टेरियर कम्पनीले सार्वजनिक गरेको हो।

इन्ग्याजेटका अनुसार कारहरूमा वास्तविक बटनहरूको पुनरागमन सुरु हुँदैछ भन्ने संकेत फक्सवागन को आईडी.पोलो ले दिएको देखिन्छ। जर्मन अटोमेकरले सार्वजनिक गरेको आगामी कम्प्याक्ट ईभी को इन्टेरियरमा वास्तविक बटन, स्विच र अडियो नियन्त्रणका लागि घुमाउने नबसमेत समावेश गरिएको छ।

“पहिलो सम्पर्कदेखि नै साथी जस्तो महसुस हुने इन्टेरियर हामीले बनाएका छौं,” फक्सवागन का प्रमुख डिजाइनर आन्द्रेयास मिन्द्टले प्रेस विज्ञप्तिमा भनेका छन्। “स्पष्ट भौतिक बटनहरूले स्थिरता र विश्वास दिन्छन्, न्यानो सामग्रीले यसलाई आकर्षक बनाउँछ, र इन्स्ट्रुमेन्टका नयाँ रेट्रो भ्युजजस्ता रमाइला विवरणहरूले फक्सवागन को खास झल्को देखाउँछन्।”

गत वर्ष मिन्द्टले अटोकारलाई दिएको अन्तर्वार्तामा अबदेखि कम्पनीले बनाउने प्रत्येक कारमा सबैभन्दा महत्त्वपूर्ण फङ्सनका लागि भौतिक बटन पुनः ल्याउने प्रतिबद्धता जनाएको बताएका थिए। यो प्रक्रिया आईडी.२अल कन्सेप्ट कारबाट सुरु भएको थियो जुन पछि विकसित भएर आईडी.पोलो बनेको हो।

यी दावीलाई समर्थन गर्दै आईडी.पोलोमा इन्फोटेनमेन्ट डिस्प्ले मुनि छुन मिल्ने बटनहरू राखिएका छन् भने स्टेयरिङ ह्विलमा पनि थप स्पष्ट बटनहरू समावेश गरिएको छ। चालक र यात्रु सिटको बीचमा अडियो भोल्युम मिलाउन वा गीत तथा रेडियो स्टेसन परिवर्तन गर्न प्रयोग गर्न सकिने नब पनि दिइएको छ।

भौतिक नियन्त्रणमा जोड दिँदै पनि फक्सवागनले आधुनिक प्रविधालाई छाडेको छैन। स्टेयरिङ ह्विल पछाडि १०.२५ इन्चको डिजिटल ककपिट दिइएको छ भने बीचमा झन्डै १३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ।

रेट्रो अनुभूतिको लागि आईडी.पोलोले आफ्नो ककपिट डिस्प्लेलाई १९८० को दशकको क्लासिक गल्प १ बाट प्रेरित डिजाइनमा पनि बदल्न सक्छ, जुन स्टेयरिङ ह्विलको बटन वा इन्फोटेनमेन्ट टचस्क्रिनमार्फत सम्भव छ।

आईडी.पोलोलाई फक्सवागनको सानो तथा कम्प्याक्ट कार सेग्मेन्टमा आउने चार नयाँ ईभी हरूमध्ये पहिलो मोडेलका रूपमा हेरिएको छ। यी मोडेलहरू यसै वर्षदेखि युरोपेली बजारमा ल्याइने अपेक्षा गरिएको छ। तर सबैका लागि राम्रो खबर भने छैन, किनभने फक्सवागनले यो कम्प्याक्ट ईभी लाई अमेरिकी बजारमा ल्याउने कुनै योजना बनाएको छैन।

प्रकाशित: २० पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...