
काठमाडौं ।
बागमती प्रदेशमा वन सम्बद्ध विभिन्न पेसागत सङ्घ संस्थाद्वारा वनक्षेत्रका प्राविधिक जनशक्ति कटौती नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ।
बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) संरचना पुनर्लेखन गर्ने क्रममा प्राविधिक जनशक्ति कटौती गर्न लागिएको भन्दै वन सम्बद्ध विभिन्न पेसागत सङ्घ संस्थाले आपत्ति जनाएका हुन्।
‘प्रदेश राष्ट्रिय वन ऐन, २०७६’ लगायतका कानुन तर्जुमा भइरहेको अवस्थामा मौजुदा दरबन्दी घटाउँदा सेवा प्रवाहमा गम्भीर असर पर्ने भन्दै तीन वटा प्रमुख वन प्राविधिक सङ्घले संयुक्त रूपमा ध्यानाकर्षण गराएका हुन्।
नेपाल वन प्राविधिक सङ्घ (एनएफए) बागमतीका अध्यक्ष उत्तम चापागाईंले प्रदेशको जैविक विविधता र पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै संरचना पुनर्लेखन गर्नुपर्नेमा जोड दिए।
वन, वन्यजन्तु तथा जलाधार संरक्षणमा प्राविधिक जनशक्ति मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनले छोटो अवधिमै दरबन्दी कटौती गरिँदा त्यसले वातावरणीय दिगोपन र सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने चेतावनी दिए।
नेपाल वन प्राविधिक सङ्घ (नेफ्टा), नेपाल फरेस्टर्स एसोसिएसन (एनएफए) र जुनियर फरेस्टर्स एसोसिएसन नेपाल (जेफान) बागमती प्रदेश कार्यसमितिले मन्त्रालयलाई बुझाएको ध्यानाकर्षणपत्रमा जनशक्तिको वास्तविक आवश्यकतामाथि गहिरो अध्ययन गरेर मात्र निर्णय लिन आग्रह गरिएको छ।
प्राविधिकको सिप अभिवृद्धि, क्षमता विकास र प्रोत्साहनका उपाय अवलम्बन गर्न सुझाव दिँदै दरबन्दी कटौतीको साटो उचित व्यवस्थापनमा जोड दिएको छ। सङ्गठन तथा व्यवस्थापन संरचना पुनर्लेखनको प्रक्रियामा कर्मचारीका सङ्घ संस्था, विज्ञ तथा सरोकारवालाको रायलाई प्राथमिकताका साथ समेट्न पनि माग गरिएको छ।
संयुक्त ध्यानाकर्षणपत्रमा एनएफएका अध्यक्ष उत्तम चापागाईं नेफ्टाका अध्यक्ष वसन्तराज गौतम र जेफानका अध्यक्ष राजेशकुमार साहले हस्ताक्षर गर्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो।
आजको गोरखापत्रबाट
प्रकाशित: २० पुष २०८२, आईतवार