आफ्नो उच्च-ब्यान्डविड्थ मेमोरी चिपको प्रतिस्पर्धा क्षमतालाई उपभोक्ताले प्रशंसा गरेको सामसङको दावी

  • Technology Khabar | १९ पुष २०८२, शनिबार
आफ्नो उच्च-ब्यान्डविड्थ मेमोरी चिपको प्रतिस्पर्धा क्षमतालाई उपभोक्ताले प्रशंसा गरेको सामसङको दावी
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरूले आगामी पुस्ताको उच्च-ब्यान्डविड्थ मेमोरी (एचबीएम) चिप एचबीएम४ को फरक र प्रतिस्पर्धी क्षमताको प्रशंसा गरेको बताएका छन्। नयाँ वर्षको सम्बोधनमा सह–कार्यकारी तथा चिप प्रमुख जुन यङ–ह्युनले ग्राहकहरूले “सामसङ फर्किएको छ” भन्ने प्रतिक्रिया दिएको बताए।

अक्टोबरमा सामसङले अमेरिकी कृत्रिम बुद्धिमत्ता क्षेत्रका अगुवा एनभिडियालाई एचबीएम४ आपूर्ति गर्न “नजिकबाट छलफल” भइरहेको जनाएको थियो। एआई चिपमा स्वदेशी प्रतिस्पर्धी एसके हाइनिक्ससहितका कम्पनीसँगको प्रतिस्पर्धा चर्किँदै गएपछि सामसङले तीव्र प्रयास गरिरहेको छ।

“एचबीएम४ को हकमा त ग्राहकहरूले नै ‘सामसङ फर्किएको छ’ भनेका छन्,” जुनले रयटर्सले समीक्षा गरेका टिप्पणीमा भने। उनले प्रतिस्पर्धात्मकता अझ सुधार गर्न बाँकी काम रहेको पनि उल्लेख गरे।

रोयटर्सका अनुसार एसके हाइनिक्सका सीईओ क्वाक नो–जङले पनि नयाँ वर्षको सम्बोधनमा बाह्य अवस्था अनुकूल रहँदा कम्पनीले फाइदा उठाएको बताए। उनले एआई चिपको माग अपेक्षाभन्दा छिटो बढेको उल्लेख गरे।

प्रतिस्पर्धा तीव्र रूपमा बढिरहेको भन्दै उनले एआईको माग अब आश्चर्य नभई सुनिश्चित भइसकेको बताए र सन् २०२६ मा व्यावसायिक वातावरण गत वर्षभन्दा कठिन हुने संकेत गरे। भविष्यका लागि तयारी गर्न थप साहसी लगानी र प्रयास आवश्यक रहेको उनले जोड दिए।

काउन्टरपोइन्ट रिसर्चको तथ्यांकअनुसार सन् २०२५ को तेस्रो त्रैमासमा एचबीएम बजारमा एसके हाइनिक्स ५३ प्रतिशत हिस्सासहित अग्रस्थानमा थियो। सामसङ ३५ प्रतिशत र माइक्रोन ११ प्रतिशत हिस्सासहित पछाडि थिए। वर्षको पहिलो कारोबार दिनमा सामसङ इलेक्ट्रोनिक्सका सेयर ७.२ प्रतिशत र एसके हाइनिक्सका सेयर ४ प्रतिशतले बढे। दुबै सेयरले नयाँ कीर्तिमान बनाउँदै बेन्चमार्क कोस्पी सूचकांकको २.३ प्रतिशत वृद्धिभन्दा राम्रो प्रदर्शन गरे।

ग्राहकहरूले डिजाइन गरेका चिप उत्पादन गर्ने फाउन्ड्री व्यवसायतर्फ ध्यान दिँदै सामसङका जुनले ठूला विश्वव्यापी ग्राहकहरूसँग हालै भएका आपूर्ति सम्झौताले फाउन्ड्री व्यवसायलाई “ठूलो फड्को मार्न तयार” बनाएको बताए। जुलाईमा सामसङ इलेक्ट्रोनिक्सले टेस्लासँग १६.५ अर्ब डलरको सम्झौता गरेको थियो।

अर्को सम्बोधनमा सामसङ इलेक्ट्रोनिक्सका सह–कार्यकारी तथा मोबाइल फोन, टिभी र घरायसी उपकरण सम्हाल्ने डिभाइस एक्सपेरियन्स डिभिजनका प्रमुख टीएम रोहले सन् २०२६ मा अनिश्चितता र जोखिम बढ्ने सम्भावना रहेको बताए।

उनले कम्पोनेन्टको मूल्य वृद्धि र विश्वव्यापी भन्सार शुल्क अवरोधलाई कारणका रूपमा उल्लेख गरे। “कुनै पनि अवस्थामा प्रतिस्पर्धात्मक लाभ कायम राख्न हामी आपूर्ति शृंखला विविधीकरण र विश्वव्यापी सञ्चालनको सुधारमार्फत मुख्य क्षमतालाई मजबुत बनाउनेछौं,” रोहले भने।

प्रकाशित: १९ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...