स्पेसएक्सले फेरि तोड्यो आफ्नै रकेट प्रक्षेपण रेकर्ड, २०२५ मा गर्यो १६५ कक्षीय उडान

  • Technology Khabar | १९ पुष २०८२, शनिबार
स्पेसएक्सले फेरि तोड्यो आफ्नै रकेट प्रक्षेपण रेकर्ड, २०२५ मा गर्यो १६५ कक्षीय उडान

काठमाडौं ।

इलन मस्कको कम्पनी स्पेसएक्सले सन् २०२५ मा पुनः एकपटक आफ्नै एक वर्षको रकेट प्रक्षेपण रेकर्ड तोडेको छ। योसँगै कम्पनीले लगातार छ वर्षसम्म नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

स्पेसएक्सको वार्षिक कक्षीय प्रक्षेपण संख्या सन् २०२० मा २५ बाट सुरु भई २०२१ मा ३१, २०२२ मा ६१, २०२३ मा ९६, २०२४ मा १३४ र २०२५ मा पुग्दा १६५ पुगेको छ। यसमा स्पेसएक्सले गरेको पाँच वटा गैर–कक्षीय स्टारशिप परीक्षण उडान समावेश छैनन्।

१६५ कक्षीय प्रक्षेपणको अर्थ लगभग प्रत्येक दुई दिनमा एउटा प्रक्षेपण हो, जुन दरले अन्य निजी कम्पनीहरू मात्र होइन, धेरै देशहरूलाई समेत पछाडि पारेको छ। तथ्याङ्कअनुसार, २०२५ मा स्पेसएक्सले चीनको तुलनामा झन्डै दोब्बर कक्षीय प्रक्षेपण गरेको छ। साथै, कम्पनीको यो संख्या संयुक्त राज्य अमेरिकाको कुल कक्षीय प्रक्षेपणको करिब ८५ प्रतिशत बराबर छ।

यी सबै १६५ कक्षीय प्रक्षेपण स्पेसएक्सको मुख्य कामकाजी रकेट फाल्कन ९ मार्फत सम्पन्न गरिएका थिए, जसको पहिलो चरण पुनः प्रयोगयोग्य छ। शक्तिशाली फाल्कन हेभी रकेटले भने २०२४ को अक्टोबरपछि कुनै उडान गरेको छैन।

स्पेस डटकमकमा अनुसार फाल्कन ९ का बुस्टरहरू तीनवटा प्रक्षेपणबाहेक सबै अवस्थामा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्न सफल भएका थिए। तीमध्ये दुई प्रक्षेपण जनवरी र अक्टोबरमा सम्पन्न भएका थिए, जसले ठूला स्पेनस्याट एनजी सञ्चार उपग्रहहरूलाई भू–स्थिरान्तरण कक्षा (जीटीओ) मा पुर्‍याएका थिए। ती भारी प्रक्षेपण भएकाले बुस्टरमा पृथ्वी फर्किन पर्याप्त इन्धन बाँकी रहेन।

तेस्रो असफल अवतरण मार्च ३ मा स्टारलिङ्क इन्टरनेट उपग्रहहरूको एउटा समूह प्रक्षेपणका क्रममा भएको थियो। उक्त बुस्टर योजनाअनुसार अटलान्टिक महासागरस्थित ड्रोन–शिपमा अवतरण त भयो, तर आधार नजिक आगलागी भएपछि एउटा अवतरण खुट्टा क्षतिग्रस्त हुँदा बुस्टर ढलेको थियो।

स्टारलिङ्क मिसनहरू नै २०२५ मा स्पेसएक्सको अधिकांश प्रक्षेपण बने। १६५ मध्ये १२३ प्रक्षेपण स्टारलिङ्क उपग्रहका लागि थिए। ती मिसनमार्फत ३,००० भन्दा बढी उपग्रह कक्षामा पठाइए, जससँगै स्टारलिङ्क मेगाकन्स्टेलेसनमा हाल ९,३०० भन्दा बढी सक्रिय उपग्रह पुगेका छन्।

यो व्यस्त वर्षमा स्पेसएक्सले अन्य महत्वपूर्ण उपलब्धिहरू पनि हासिल गर्‍यो। कम्पनीले आफ्नो ५००औँ रकेट अवतरण र ५००औँ पटक प्रयोग भइसकेको रकेटको प्रक्षेपण पूरा गर्‍यो। साथै, एउटै फाल्कन ९ बुस्टरबाट सबैभन्दा धेरै प्रक्षेपण गर्ने आफ्नै रेकर्ड पनि पटक–पटक तोड्दै हाल ३२ प्रक्षेपणसम्म पुर्‍याएको छ।

फाल्कन ९ बाहेक, स्पेसएक्सले २०२५ मा पूर्ण रूपमा पुनः प्रयोगयोग्य र हालसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्टारशिपका पाँच वटा उप–कक्षीय परीक्षण उडान पनि गरेको छ। वर्षका सुरुका तीन उडानमा स्टारशिपका दुई चरणमध्ये कम्तीमा एउटा गुमेको थियो, तर अगस्ट र अक्टोबरमा भएका पछिल्ला दुई परीक्षण उडान पूर्ण रूपमा सफल भएका थिए।

२०२६ मा स्टारशिपका थप उडानहरू हुने अपेक्षा गरिएको छ, जसमा पहिलो कक्षीय उडान पनि पर्न सक्छ। सबै कुरा अत्यन्त अनुकूल भएमा, मानवरहित मंगल ग्रह यात्रा समेत सम्भावनाको दायरामा रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १९ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार