
काठमाडौं ।
हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको एउटा विद्यालयमा प्राविधिक धारको पठनपाठन भएसँगै विद्यार्थीलाई सहज भएको छ।
आफ्नै गाउँमा बसेर चाहना अनुसार प्राविधिक धारको विषय अध्ययन गर्न पाएपछि आर्थिक तथा अन्य विषयमा पनि सहज भएको हो। शिक्षा तथा मानव संसाधन विभागको अनुमति लिएर ताँजाकोट गाउँपालिकाको जनप्रकाश माध्यमिक विद्यालयमा लागू भएको कृषितर्फको प्राविधिक धारको विषय पढ्ने चाहना भएका विद्यार्थीले सस्तो र सहज रूपमा अध्ययन गर्न पाएका सो विद्यालयको कृषिधारमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी अकिल बुढाले बताए।
यसअघि प्राविधिक धारको विषय नहुँदा सो गाउँपालिकामा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या शून्य थियो। हाल अन्य विषय अध्ययन गर्ने विद्यार्थी जिल्लाबाहिर जाने भए पनि आर्थिक रूपमा कमजोर तर पढ्ने चाहना भएका विद्यार्थीलाई सहज भएको उनले बताए।
गाउँपालिकाको सहयोगमा विद्यार्थीलाई पठनपाठन पूर्ण रूपमा निःशुल्क
गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए। जिल्लाबाहिर गएर लाखौँ खर्च गर्नुभन्दा आफ्नै गाउँठाउँमा बसेर घरमा उत्पादन भएको अन्नबाली खाएर अध्ययन गर्ने व्यवस्थाले विद्यार्थीलाई सहज बनाएको उनले जनाए।
उनका अनुसार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयबाट कृषिधारमा राम्रो स्थान ल्याउने विद्यार्थीलाई अवसर दिने नीतिसमेत लिएको छ। राम्रा विद्यार्थीलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ।
यो धार लागू भएपछि विद्यालयले कक्षा ९ र १० मा पनि कृषि विषय अध्ययन गर्ने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद जैसीले बताए। कृषिधार अध्ययन गर्ने टाढाका विद्यार्थीका लागि आवासीय व्यवस्थासमेत गरिएको छ।
विद्यार्थीलाई अभ्यास गर्नका लागि जग्गा भाडामा लिएर फलफूल तथा कृषि बाली लगाउने र अध्ययन गर्ने कार्यसमेत भइरहेको उनको भनाइ छ। उनका अनुसार यो शैक्षिक सत्रमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी २७ जना, कक्षा १० मा १५ जना, कक्षा ११ मा २० जना र कक्षा १२ मा १३ जना छन्। कृषिधार लागू भएपछि पहिलो पटक कक्षा १२ उत्तीर्ण हुने ब्याच निक्लन लागेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १८ पुष २०८२, शुक्रबार