क्रिप्टो कारोबारमा युवापुस्ताको संलग्नता बढी

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
क्रिप्टो कारोबारमा युवापुस्ताको संलग्नता बढी
फाइल तस्बिर

काठमाडौं ।

कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ।

नेपालमा अभौतिक सम्पत्ति कारोबारबारे राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबारमा युवापुस्ता धेरै संलग्न रहेको औँल्याएको छ।

प्रतिवेदन अनुसार पछिल्ला चार वर्षमा अभौतिक सम्पत्ति कारोबार भएकोबारे कुल ६५८ वटा कारोबारको जानकारी प्राप्त भएको छ। सन् २०२१ मा १३ वटा कारोबार रिपोर्ट भएकामा २०२२ मा १७३ पुगेका छन् भने सन् २०२४ मा २५२ वटा यस्ता कारोबार घटना रिपोर्ट भएको देखिएको छ । सन् २०२५ को मध्य जुलाईसम्म घटना रेकर्ड भएको छ।

८२ वटा यस्ता प्रतिवेदनले अवैध अभौतिक सम्पत्ति कारोबारमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संलग्नता बढी देखिएको छ।

अभौतिक सम्पत्तिको कारोबारपछिको भुक्तानी वाणिज्य बैङ्कमार्फत नै बढी हुने गरेका कारण यस्तो शङ्कास्पद कारोबारको रिपोर्ट पनि वाणिज्य बैङ्कहरूबाट सबैभन्दा धेरै प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार अध्ययन सन् २०२१ जनवरी १ देखि २०२५ जुलाई १५ सम्म वाणिज्य बैङ्कहरूबाट छ सय वटा शङ्कास्पद कारोबार रिपोर्ट राष्ट्र बैङ्कमा प्राप्त भएका थिए। त्यसपछि विकास बैङ्कबाट ४८ वटा उजुरी विकास बैङ्कबाट प्राप्त भएका छन्।

प्रतिवेदनले विशेष गरी युवापुस्ताका विद्यार्थी यस्तो कारोबारमा बढी संलग्न रहेको पाइएको औँल्याएको छ । प्रतिवेदन अनुसार शङ्कास्पद कारोबारमा संलग्नमध्ये २१ देखि ४० वर्षका युवाको हिस्सा ९२ प्रतिशत छ। अझ २६ देखि ३० वर्षसम्मका मात्रै ३५ प्रतिशत रहेको देखिन्छ।

पेसागत रूपमा २९ प्रतिशत विद्यार्थी छन् भने २१ प्रतिशत कर्मचारी छन्। यसले क्रिप्टो, बेटिङ जस्ता अवैध र अभौतिक कारोबारमा युवा संलग्न हुने र रकम भुक्तानीका लागि बैङ्किङ प्रणाली र हुन्डीको प्रयोग हुने गरेको प्रतिवेदनले औँल्याएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार