मानवलाई मंगल ग्रह पठाउन सहयोग गर्ने तयारीमा रोबोटिक अन्वेषकहरू

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
मानवलाई मंगल ग्रह पठाउन सहयोग गर्ने तयारीमा रोबोटिक अन्वेषकहरू
तस्बिर: स्पेस डटकम

काठमाडौं ।

मानव र रोबोटिक अन्तरिक्ष अन्वेषण एक–अर्काका विकल्प होइनन्, बरु एक–अर्काका पूरक हुन् भन्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्। “यो रोबोटिक अन्वेषण कि मानव अन्वेषण भन्ने प्रश्न होइन,” कोलोराडो विश्वविद्यालय बौल्डरस्थित प्रयोगशाला फर एटमोस्फेरिक एन्ड स्पेस फिजिक्स (एलएएसपी) की निर्देशक बेथानी एहल्मानले भनिन्, “यो दुवै कसरी सँगै प्रभावकारी रूपमा गर्ने भन्ने विषय हो।”

चन्द्रमा र मंगल ग्रह मानव अन्तरिक्ष उडानको केन्द्रमा आउँदै गर्दा, वैज्ञानिकहरूले हाल सञ्चालनमा रहेका रोबोटिक अन्तरिक्ष मिसनहरू प्रयोग गरेर दीर्घकालीन मानव उपस्थितिका लागि आधार तयार गरिरहेका छन्।

डिसेम्बर १७ मा लुइजियानामा सम्पन्न अमेरिकी भू–भौतिक संघ (एजीयू) को बैठकमा आयोजित पत्रकार सम्मेलनमा वैज्ञानिकहरूले चन्द्रमामा पानीको स्रोत पहिचान, हानिकारक विकिरणबाट अन्तरिक्ष यात्रीको सुरक्षा, तथा चन्द्र धुलो जस्ता व्यवहारिक चुनौती समाधानमा नयाँ अनुसन्धानले कसरी सहयोग गरिरहेको छ भन्नेबारे जानकारी दिए।

यो वैज्ञानिक गतिविधि नासाले मानव अन्वेषणमा नयाँ चरण सुरु गर्ने तयारी गरिरहेका बेला आएको हो। डिसेम्बर १८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ सम्म अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमामा पठाउने र २०३० सम्म स्थायी चन्द्र आधारका प्रारम्भिक संरचना निर्माण गर्ने कार्यलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उक्त अभियानको नेतृत्व नव–नियुक्त नासा प्रशासक जारेड आइज्याकम्यानले गर्नेछन्।

एजीयू सम्मेलनमा वैज्ञानिकहरूले पृथ्वीका लागि विकास गरिएका उपकरण र डाटासेटलाई भविष्यका चन्द्र तथा मंगल मिसनका लागि अनुकूल बनाउँदै यी महत्वाकांक्षी योजनालाई सहयोग गरिरहेको बताए।

मंगल ग्रहमा विकिरण जोखिम मूल्याङ्कन

स्पेस डटकमका अनुसार नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरकी हेलियोफिजिसिस्ट तथा सोलार सिस्टम एक्सप्लोरेसन डिभिजनकी कार्यवाहक निर्देशक जीना डिब्रासियोले पृथ्वी नजिकको अन्तरिक्ष मौसम अनुगमन गर्न बनाइएको निर्णय–सहयोग उपकरणलाई मंगल ग्रहसम्बन्धी डाटासमेत समेट्ने गरी विस्तार गरिएको जानकारी दिइन्।

उक्त डिजिटल ड्यासबोर्डमा माभेन अर्बिटर, क्युरियोसिटी र पर्सेभरेन्स रोभरजस्ता मंगल मिसनबाट प्राप्त डाटा समावेश गरिएको छ। यसले मंगल सतहबाटै सौर्य ज्वालाजस्ता अन्तरिक्ष मौसम घटनाको निगरानी गरी आवश्यक सुरक्षात्मक उपाय अपनाउने निर्णयमा अन्तरिक्ष यात्रीलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

“यो मंगल ग्रहको सतहबाट अन्तरिक्ष मौसम बुझ्न र मूल्याङ्कन गर्न अन्तरिक्ष यात्रीले प्रयोग गर्न सक्ने प्रारम्भिक उपकरणमध्ये एक हो,” डिब्रासियोले भनिन्।

यूसी बौल्डरका वैज्ञानिक तथा माभेन मिसनकी प्रमुख अनुसन्धानकर्ता श्यानन करीले २०१४ देखि २०२५ सम्मको एक पूर्ण सौर्य चक्र समेटिएको मंगल ग्रहको अन्तरिक्ष मौसम घटनाको नयाँ सूची तयार गरिएको जानकारी दिइन्। यसले मंगलको कक्षमा विकिरण स्तर कति हुन्छ र त्यो सतहसम्म कसरी पुग्न सक्छ भन्ने बुझ्न सहयोग पुर्‍याउने उनले बताइन्।

चन्द्रमामा पानी खोज्ने चुनौती

वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा पानीको स्रोत पहिचान गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताए, जहाँ नासाले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ।

“अहिलेको चुनौती भनेको उपलब्ध डाटासेटहरूले पानी ठ्याक्कै कहाँ छ भन्ने कुरामा पूर्ण रूपमा सहमति जनाउँदैनन्,” एहल्मानले भनिन्। “हामीलाई थाहा छ कि पानी दक्षिणी ध्रुव क्षेत्रमा छ, केही महत्वपूर्ण क्रेटरहरू छन्, तर यो न्यु अर्लिन्स शहरमा ‘कतै पानी छ’ भन्नुजस्तै हो।”

जुलाईमा नासाले चयन गरेको नयाँ इमेजिङ स्पेक्ट्रोमिटरले यो अनिश्चितता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। चन्द्र कक्षाबाट प्रयोग गर्न सकिने यो उपकरणले पानी र खनिजहरूको नक्साङ्कन गरी नमुना सङ्कलनका लागि उपयुक्त स्थान पहिचान गर्नेछ।

चन्द्र धुलो: पुरानो तर गम्भीर समस्या

एपोलो युगदेखि नै चन्द्र धुलो ठूलो समस्या रहँदै आएको वैज्ञानिकहरूले स्मरण गराए। ती साना, धारिला कणहरूले स्पेससुट र उपकरणमा क्षति पुर्‍याएका थिए। एपोलो १७ का अन्तरिक्ष यात्री ह्यारिसन ‘ज्याक’ स्मिट चन्द्र धुलोका कारण एलर्जी जस्तै लक्षण देखिने पहिलो व्यक्ति बनेका थिए।

एपोलो १७ का कमान्डर जीन सर्ननले मिशनपछि भनेका थिए, “मलाई लाग्छ, चन्द्रमामा सामान्य सञ्चालनका लागि सबैभन्दा ठूलो अवरोध धुलो नै हो।”

यस चुनौती समाधानका लागि नयाँ उपकरण विकास भइरहेका छन्। तीमध्ये एक हो जसलाई नासाको आर्टेमिस ४ मिशनका लागि चयन गरिएको डस्टर डस्ट एण्ड प्लाज्मा इन्भाइरोन्मेन्ट सर्भेयर छ। कोलोराडो विश्वविद्यालय बौल्डरका स्यु वाङको नेतृत्वमा २४.८ मिलियन डलरको यो परियोजनाले चन्द्र सतह नजिक धुलो र प्लाज्माको अवस्था अध्ययन गर्नेछ।

त्यसैगरी कम्प्याक्ट इलेक्ट्रोस्टेटिक डस्ट एनालाइजर (सीईडीए) नामक अर्को उपकरण पनि विकास भइरहेको छ, जसले चन्द्र धुलोका प्रमुख गुणहरू मापन गर्नेछ। यो उपकरण सतहमा वा कक्षामा दुवै अवस्थामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ। “चन्द्रमामा धुलो जताततै छ,” वाङले भने, “तपाईं यसलाई टार्न सक्नुहुन्न, यससँग जुध्नै पर्छ।”

मंगल ग्रहमा प्राकृतिक विकिरण सुरक्षा?

वैज्ञानिकहरूले मंगल ग्रहका केही स्थानीय चुम्बकीय क्षेत्रहरूले सीमित स्तरको विकिरण सुरक्षा दिन सक्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेका छन्। प्रारम्भिक मोडेलिङले मंगलको चट्टानमा रहेको चुम्बकीय संरचनाले केही माइलसम्म सुरक्षा दिन सक्ने देखाएको स्पेस डटकमले उल्लेख गरेको छ।

यी क्षेत्रहरूको विस्तृत नक्साङ्कन गर्न साना ड्रोनजस्ता हवाई यानमा जडान गर्न मिल्ने अत्यन्त साना म्याग्नेटोमिटर विकास गर्ने काम भइरहेको छ। यसले कक्षाबाट सम्भव नभएको सूक्ष्म सतह सर्वेक्षण गर्न सहयोग पुर्‍याउने नासाका वैज्ञानिक जारेड एस्प्लेले बताए।

वैज्ञानिकहरूका अनुसार यी सबै प्रयासले रोबोटिक मिसनहरूले मानव अन्तरिक्ष अन्वेषणको भविष्य कसरी आकार दिइरहेका छन् भन्ने स्पष्ट देखाउँछ। “यो रोबोटिक वा मानव अन्वेषणमध्ये एउटाको कुरा होइन,” एहल्मानले पुनः दोहोर्याइन्, “यो दुवै सँगै कसरी अघि बढ्ने भन्ने प्रश्न हो।”

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार