

काठमाडौं ।
सफ्टब्यांक ग्रुपले च्याटजीपीटी विकासकर्ता ओपनएआईमा ४१ अर्ब अमेरिकी डलर लगानी पूरा गरेको जनाएको छ। यो निजी क्षेत्रमा भएका अहिलेसम्मकै ठूला लगानीमध्ये एक हो, जसबाट जापानी समूहले ओपनएआईमा करिब ११ प्रतिशत हिस्सेदारी पाएको छ।
सफ्टब्यांकका प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनले ओपनएआईमा ‘अल–इन’ लगानी रणनीति अपनाएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) र यससँग सम्बन्धित पूर्वाधारमा लगानी विस्तार गर्दै उनले एआई अनुप्रयोगको आधार बनेको उच्च कम्प्युटिङ क्षमताको बढ्दो मागबाट लाभ लिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
ओपनएआईको पछिल्लो लगानी चरण पूरा हुनु केही दिनअघि मात्र सफ्टब्यांकले डिजिटल पूर्वाधारमा लगानी गर्ने कम्पनी डिजिटलब्रिज ग्रुपलाई ४ अर्ब डलरमा खरिद गर्ने सम्झौता सार्वजनिक गरेको थियो।
बुधबार सफ्टब्यांकले अप्रिलमा गरेको ७.५ अर्ब डलरको लगानीपछि थप २२.५ अर्ब डलर ओपनएआईमा लगानी पूरा भएको जानकारी दिएको छ। साथै, अन्य लगानीकर्ताबाट आएको ११ अर्ब डलरको विस्तारित संयुक्त सह–लगानी पनि ओपनएआईले प्राप्त गरेको सफ्टब्यांकले जनाएको छ।
रोयटर्सका अनुसार यसअघि मार्चमा सफ्टब्यांकले ओपनएआईको नाफामुखी सहायक कम्पनीमा प्रत्यक्ष पूँजी र अन्य लगानीकर्तासँगको संयुक्त सह–लगानीमार्फत ४० अर्ब डलरसम्म लगानी गर्ने सहमति जनाएको थियो।
उक्त सम्झौतापछि ओपनएआईको मूल्याङ्कन लगानीपछि करिब ३०० अर्ब डलर पुगेको थियो। तर अक्टोबरमा सम्पन्न द्वितीयक सेयर बिक्रीपछि कम्पनीको मूल्याङ्कन करिब ५०० अर्ब डलर पुगेको पिचबुकको तथ्यांकले देखाएको छ।
यस समाचारलाई यसैदिन सीएनबीसीले पहिलोपटक सार्वजनिक गरेको थियो। यस वर्ष विश्व प्रविधि बजारमा कृत्रिम बुद्धिमत्ता मुख्य केन्द्रबिन्दुका रूपमा उदाएको छ। ठूला कम्पनीहरूको आक्रामक लगानीसँगै यसले लगानीकर्ताको अपेक्षासमेत पुनःपरिभाषित गरिरहेको छ। ओपनएआई यस उद्योगव्यापी एआई लगानी विस्तारको केन्द्रिय स्तम्भका रूपमा उभिएको छ।
च्याटजीपीटी निर्माता ओपनएआईले ओरेकल र अन्य साझेदारसँग मिलेर ‘स्टारगेट’ नामक बहुवर्षीय, विशाल डाटा सेन्टर परियोजना अघि बढाउने योजना बनाएको छ। आगामी पुस्ताका एआई मोडेललाई समर्थन गर्ने लक्ष्यसहित तयार गरिएको यस परियोजनामा सफ्टब्यांकसहितका प्रमुख लगानीकर्ताको समर्थन रहेको बताइएको छ।
प्रकाशित: १६ पुष २०८२, बुधबार