पृथ्वीबाट ६० हजार फिट माथिबाट नासाको खोज: फोन, ईभी र स्वच्छ ऊर्जालाई चलाउने खनिज

  • Technology Khabar | १५ पुष २०८२, मंगलवार
पृथ्वीबाट ६० हजार फिट माथिबाट नासाको खोज: फोन, ईभी र स्वच्छ ऊर्जालाई चलाउने खनिज

काठमाडौं ।

नासाले अमेरिकाको पश्चिमी भू–भागमा अत्यावश्यक खनिजको खोजलाई सघाउन नयाँ उच्च–प्रविधियुक्त सेन्सर प्रयोगमा ल्याएको छ।

यो सेन्सरको नाम एभिरिस-५ (एयरबोर्न भिजिबल/इन्फ्रारेड इमेजिङ स्पेक्ट्रोमिटर–५) हो, जसको प्रविधि नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) ले सन् १९७० को दशकमा विकास गरेको थियो।

माइक्रोवेभ ओभन जत्तिकै आकारको यो सेन्सर नासाको उच्च उचाइमा उड्ने ईआर-२ अनुसन्धान विमानको अगाडिको भागमा फिट हुन्छ। यसको पहिलो संस्करण सन् १९८६ मै प्रयोग गरिएको थियो र त्यसयता जेपीएलले यसलाई निरन्तर परिमार्जन गर्दै आएको छ।

लाइभसाइन्सका अनुसार एभिरिस-५ नासा र अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को संयुक्त अनुसन्धान परियोजना जेमएक्स अन्तर्गत प्रयोग भइरहेका सबैभन्दा नयाँ उपकरणमध्ये एक हो। यस परियोजनाको उद्देश्य उपभोक्ता इलेक्ट्रोनिक्स र सैन्य प्रविधि निर्माणमा अत्यन्तै महत्वपूर्ण मानिने ‘क्रिटिकल मिनरल्स’ का सतही संकेतहरू पहिचान गर्नु हो।

जेमएक्स दीर्घकालीन परियोजना हो। मरुभूमि क्षेत्रमा कम रुख–बिरुवा हुने भएकाले त्यहाँ खनिज स्पेक्ट्रोस्कोपी गर्न सजिलो हुन्छ। सन् २०२३ देखि हालसम्म संयुक्त टोलीले अमेरिकाको विशाल पश्चिमी क्षेत्रमा करिब ३६६,००० वर्ग माइल (९५०,००० वर्ग किलोमिटर) क्षेत्र स्क्यान गरिसकेको छ।

जेमएक्सले खोजिरहेका धेरै खनिजहरूको विशिष्ट रासायनिक संरचना हुन्छ, जसले प्रकाशका फरक–फरक तरङ्ग लम्बाई परावर्तन गर्छ। यही परावर्तित प्रकाश पहिचान गरेर एभिरिस-५ले ती खनिजका छुट्टै ‘स्पेक्ट्रल फिङ्गरप्रिन्ट’ पत्ता लगाउन सक्षम हुन्छ।

यूएसजीएसका अनुसार क्रिटिकल मिनरल्स भनेका ती खनिज हुन् जसले “अमेरिकाको आर्थिक वा राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्छन्।” यस्ता खनिजमा एल्युमिनियम, लिथियम, जिंक, ग्रेफाइट, टङ्स्टन र टाइटेनियम पर्छन्। यी खनिज सेमिकन्डक्टर, सौर्य ऊर्जाका प्रणाली र विद्युतीय सवारी (ईभी) ब्याट्रीजस्ता महत्वपूर्ण प्रविधिको आपूर्ति शृंखलामा प्रयोग हुन्छन्।

सन् २०२५ को मार्चमा ह्वाइट हाउसले यी खनिजको उत्पादन “सम्भव भएसम्म अधिकतम स्तरमा” बढाउने कार्यकारी आदेश जारी गरेको थियो। आदेशमा शत्रुतापूर्ण विदेशी शक्तिहरूको खनिज उत्पादनमा निर्भर रहँदा अमेरिकी राष्ट्रिय र आर्थिक सुरक्षा “गम्भीर रूपमा जोखिममा परेको” उल्लेख गरिएको छ।

खनिज खोज मात्र नभई जेपीएलले विगतमा विकास गरेका एभिरिस -५ जस्तै स्पेक्ट्रोमिटरहरू अन्तरिक्ष यानमा पनि प्रयोग हुँदै आएका छन्। यिनको सहयोगमा नासाका वैज्ञानिकहरूले मंगल, बुध र प्लुटोजस्ता सौर्यमण्डलका ग्रहबारे थप बुझाइ हासिल गरेका छन्।

“यस्तै एउटा उपकरण बृहस्पतिको महासागरयुक्त चन्द्रमा युरोपातर्फ पठाइँदैछ, जहाँ जीवनलाई समर्थन गर्न आवश्यक रासायनिक तत्त्वहरूको खोज गरिनेछ,” जेपीएलका एक प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जेपीएल की पृथ्वी प्रणाली वैज्ञानिक डाना च्याडविकका अनुसार, एभिरिस -५ को उपयोग खनिज खोजमा मात्र सीमित रहने छैन।

“यो प्रविधिबाट भूमि व्यवस्थापनदेखि हिमपहिरो पानी स्रोत र डढेलो जोखिम मूल्याङ्कनसम्मका धेरै प्रश्नको उत्तर खोज्न सकिन्छ,” च्याडविकले भनेकी छन्। “क्रिटिकल मिनरल्स त एभिरिस -५ को सुरुआत मात्र हो।”

प्रकाशित: १५ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार