
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद तथा बिक्रीवितरणलाई व्यवस्थित बनाउन अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ।
कृषकलाई अनुदानमा वितरण गरिने मलको खरिद तथा बिक्रीवितरण कार्यलाई थप व्यवस्थित एवं पारदर्शी बनाउन सो सूचना प्रणाली प्रयोगमा ल्याइएको हो।
यस प्रणालीमार्फत मलको आयात, सञ्चिति र बिक्रीवितरणसम्बन्धी अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
अनुदानमा वितरण गरिने मलको वितरण कार्यमा विक्रेताले पक्षपात गर्ने, बढी मूल्य लिने, अनधिकृत व्यक्ति तथा संस्थालाई बेच्ने भन्ने गुनासोलाई सम्बोधन गर्न सो प्रणाली लागू गरिएको हो।
यस प्रणालीमार्फत मल बिक्रेता सहकारी वा फर्मले पाएको मलको कोटा, स्टकको विवरण प्रत्येक पटक बिक्रेता सहकारी वा फर्मले पाएको कोटाको मल कुन कृषकलाई के कति परिमाणमा बिक्री गरेको बारेमा विस्तृत विवरण जोसुकैले पनि हेर्न सकिने गरी व्यवस्था गरिएको छ।
मन्त्रालयको वेबसाइट एमओएएलडी डट जिओभी डट एनपीमार्फत अनुदानको मल वितरण सूचना प्रणाली’ मा गई आफ्नो स्थानीय तह छनोट गरी मलको स्टक तथा बिक्रीवितरणसम्बन्धी विवरण हेर्न सकिने छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १४ पुष २०८२, सोमबार