आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना
कान्तिपथ स्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उपस्थित कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रश्नोत्तरमा सहभागी हुँदै, साथमा अन्य निर्वाचन आयुक्तहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का बारेमा जानकारी दिन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। आयोगमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी गराइएको हो।

केन्द्रमा समन्वयात्मक रूपमा कार्य गर्नेगरी निर्वाचन सूचना तथा सञ्चार केन्द्र, सूचना सदाचार प्रवर्द्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाई गरी तीन ओटा एकाइ रहेको जानकारी गराइयो। आयोगले आजैदेखि पत्रकारलाई निर्वाचनसम्बन्धी साप्ताहिक रूपमा जानकारी दिनेगरी पत्रकार सम्मेलन सुरु गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गरिनुपर्ने बताए। यसका लागि केन्द्रको स्थापना गरिएको उनले बताए।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो। आयोगका गतिविधि र सूचनालाई तत्काल एवं सही रूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै उनले सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतलाई ध्यान दिएर स्वच्छ निर्वाचन गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएपछिदेखि हालसम्म आयोगले गरेका मुख्यमुख्य काम र निर्वाचन पूर्वतयारीका सम्बन्धमा प्रस्तति गर्दै यसअघिको निर्वाचनपछि मौज्दात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागिएको जानकारी दिए। रासस

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार