
काठमाडौं ।
प्रविधिको विकास र बढ्दो सुविधासँगै लमजुङमा अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेका छन्। पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षयता मात्रै अनलाइन ठगीसम्बन्धी ३६ उजुरी परेका छन्। प्रहरीका अनुसार गत आवमा मात्रै २७ वटा र चालु आवको तीन महिनाको अवधिमा अनलाइन माध्यममार्फत ठगिएको भन्दै नौ जनाको उजुरी परेको छ।
प्रहरीका अनुसार पीडितले सामाजिक सञ्जालमार्फत चिठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिदबिक्रीमा ठगिएको, फेसबुक, ह्वाट्सएप, भाइबर, इमेल आइडी ह्याक गरी ठगीमा परेको, इसेवा, ओटिपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।
अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना आउन थालेको लमजुङका प्रहरी प्रमुख रेसम बोहोराले बताए। अनलाइन माध्यमबाट हुने सेवा सुविधाको उपयोग बढी र सतर्कता कम हुँदा सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना हुने गरेको बोहोराले थपे।
जिल्लामा बौद्धिक वर्गदेखि सर्वसाधारणसम्म अनलाइनबाट धेरै व्यक्ति ठगीमा पर्दै गएका छन्। अनलाइन ठगीमा बैङ्क तथा सम्बन्धित व्यक्तिको आइडीको ओटिपी कोड आवश्यक पर्ने भन्दै माग्ने तथा सो कोड प्राप्त गरेपछि बैङ्क तथा डिजिटल वालेट आफैँ सञ्चालन गरी पीडितको खाताबाट रकम झिक्ने तथा अन्य व्यक्तिसँग रकम माग गर्ने गरेका छन्।
पछिल्लो समय बैङ्क कारोबारमा हुने अनलाइन प्रविधिको प्रयोगबाट समेत बैङ्क खातामा भएको रकम सम्बन्धित खातावालाले जानकारी नपाई अर्काले झिक्ने गरेको उजुरी प्रहरीमा पर्न थालेको छ।
बैङ्कमा रकम रहेको व्यक्तिको कागजात अर्को कुनै व्यक्तिले प्रयोग गरी बैङ्क खातालाई अनलाइन माध्यमबाट प्रयोग गर्ने र अन्य खातामा रकम पठाउने घटना बढ्दै गएको हो। त्यसै गरी इसेवा, खल्ती, आइएमई जस्ता मोबाइल वालेटमा प्रयोग गरिएका मोबाइल नम्बर ठगी गर्ने व्यक्तिले प्रयोग गरेरसमेत त्यस्ता वालेटबाट बैङ्क खातामा रहेको रकम अन्य खातामा पठाउने गरेको पाइएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुक, स्वाट्सएप, भाइबरमा चिट्ठा परेको भनी भ्वाइस कल गरी पीडितलाई फोटो, नागरिकता, फोन नम्बर,
बैङ्क खाता पठाउन लगाई ठगी गर्ने समूहले नक्कली डकुमेन्ट बनाएर ठगी गर्ने गरेका छन्।
त्यसै गरी विदेशबाट सामाजिक सञ्जालमा ‘फ्रेन्ड रिक्वेस्ट’ समेत पठाई साथी बन्दै लोभ प्रलोभन देखाएर महँगो मूल्यका सामानका फोटो पठाउने र भारतीय नम्बरबाट फोन गरेर भन्सारमा तिर्नुपर्ने रकम आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिका खातामा रकम पठाउन लगाउने गरेका छन्। यसरी हुने ठगी कम गर्न पहिले सामाजिक सञ्जालको प्रयोगमा सम्बन्धित व्यक्ति आफैँ सचेत हुनुपर्ने प्रहरीको सुझाव छ।
मोबाइल सेवाप्रदायक कम्पनीले समेत नागरिकता वा कुनै कागजातका भरमा एक व्यक्तिका नाममा रहेको सिमकार्ड अर्को व्यक्तिलाई उपलब्ध गराउँदा निजले पहिले उपलब्ध गराएको सम्पर्क नम्बरमा कागजात परीक्षण गर्दा अनलाइन प्रणालीमार्फत हुने अपराध कम गर्न सकिने सरोकारवालाको सुझाव छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ पुष २०८२, शुक्रबार