
काठमाडौं ।
सिमेन्ट उत्पादक संघ नेपाल (सीएमए) को आयोजनामा तथा आईपीटीएम नेपालद्वारा सहजीकरण गरिएको “डिजाइन एण्ड कन्स्ट्रक्शन अफ रिजिड पेभमेन्ट” विषयक तालिम होटल ल्याण्डमार्क, लेकसाइड, पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका, कास्कीकी उपाध्यक्ष सीता अधिकारी, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर नरेन्द्र सुवेदी, तथा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ सहभागी थिए।
कार्यक्रमको सिमेन्ट उत्पादक संघ नेपालका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ई. ध्रुव थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालमा कङ्क्रिट पक्की निर्माणका लागि उपयुक्त कम लागतको कङ्क्रिट पेभर प्रविधि सम्बन्धी छोटो भिडियो प्रस्तुत गरे। त्यसपछि तालिम सहजकर्ता ई. अर्जुन जंग थापाले “रिजिड पेभमेन्टको परिचय तथा नेपालमा यसको सान्दर्भिकता” विषयमा प्राविधिक अभिमुखीकरण प्रस्तुति दिए।
प्रस्तुतिमा सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिने रिजिड पेभमेन्टले ट्राफिकको भारलाई स्ल्याबमार्फत फराकिलो क्षेत्रफलमा वितरण गर्ने भएकाले कमजोर सबग्रेड, भारी सवारी साधन, पानी जम्ने तथा चुहावट हुने क्षेत्रमा समेत प्रभावकारी हुने तथ्य उजागर गरिएको थियो।
नेपालको भौगोलिक विविधता, बढी वर्षा, बढ्दो सवारी चाप तथा बिटुमिनस सडकको उच्च मर्मत लागतका कारण नेपालमा रिजिड पेभमेन्टको प्रयोग झनै सान्दर्भिक बन्दै गएको उल्लेख गरियो।
यद्यपि प्रारम्भिक लागत बढी भए पनि लामो आयु (२५–३० वर्षभन्दा बढी) र न्यून मर्मत खर्चका कारण यसको जीवनचक्र लागत कम हुने भएकाले यो दीगो तथा आर्थिक रूपमा लाभदायी विकल्प रहेको प्रस्तुतिकरणमा जोड दिइयो।
ई. नरेन्द्र सुवेदीले इन्जिनियर तथा सब–इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजना गरेकोमा सीएमएलाई धन्यवाद दिए। उनले तालिममा चर्चा गरिनुपर्ने केही विषयबस्तुको बारेमा उल्लेख गर्दै नेपालको सिमेन्ट उद्योग आत्मनिर्भर भई भारतसम्म सिमेन्ट निर्यात हुन थालेकोमा खुशी व्यक्त गरे र तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गरी गुणस्तरीय र दीगो सडक निर्माणमा योगदान पुग्ने अपेक्षासमेत सुनाए।
त्यसैगरी प्रमुख अतिथि अधिकारीले सरकारी निर्माण ठेक्कामा न्यूनतम दरमा ठेक्का दिने प्रचलनका कारण निर्माण कार्यको गुणस्तरमा नकारात्मक असर परेको धारणा व्यक्त गर्दै गाउँपालिकाको सुपरिवेक्षण टोलीको फोकल पर्सनको रूपमा कार्यरत रहँदा तालिमले डिजाइन, निर्माण प्रक्रिया र गुणस्तर नियन्त्रणको महत्त्वबारे आफ्नो दृष्टिकोण अझ स्पष्ट भएको साथै स्थानीय तहका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम अत्यन्त आवश्यक रहेको बताइन्।
कार्यक्रममा अध्यक्ष रघु नन्दन मारुले “स्मार्ट च्वाइस फर कंक्रिट पेभमेन्ट” शीर्षकमा संक्षिप्त प्रस्तुति दिँदै सिमेन्ट कङ्क्रिट सडकका दीर्घकालीन आर्थिक, प्राविधिक तथा वातावरणीय फाइदाबारे प्रकाश पारे। उक्त तालिमले नेपालमा गुणस्तरीय, दिगो तथा दीर्घकालीन सडक पूर्वाधार विकासमा संलग्न प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।
प्रकाशित: ११ पुष २०८२, शुक्रबार