इन-कार-एआई असिस्टेन्टका रुपमा जेमिनीलाई परीक्षण गर्दै वेमो

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
इन-कार-एआई असिस्टेन्टका रुपमा जेमिनीलाई परीक्षण गर्दै वेमो

काठमाडौं ।

वेमोले यात्रुहरूलाई साथ दिने र उनीहरूका प्रश्नहरूको उत्तर दिने उद्देश्यले आफ्ना रोबोट्याक्सीमा गुगलको जेमिनी एआई च्याटबोट समावेश गर्ने परीक्षण गरिरहेको देखिएको छ। अनुसन्धानकर्ता जेन मन्चुन वोंगले पत्ता लगाएको विवरणका अनुसार, यसले वेमो भित्रै एआई सहायक एकीकृत गर्ने दिशामा काम भइरहेको संकेत गर्छ।

“वेमो को मोबाइल एपको कोड खोतल्दै जाँदा मैले जेमिनी एकीकरणका लागि तयार गरिएको पूरा सिस्टम प्राम्प्ट फेला पारेँ,” वोंगले आफ्नो ब्लगमा लेखेकी छन्। “आन्तरिक रूपमा ‘वेमो राइड असिस्टेन्ट मेटा प्रम्प्ट’ नाम दिइएको यो दस्तावेज १,२०० भन्दा बढी लाइनको विस्तृत विवरण हो, जसले वेमो सवारीभित्र एआई सहायकले कसरी व्यवहार गर्नुपर्ने भन्ने कुरा स्पष्ट रूपमा परिभाषित गर्छ।”

यो फिचर अझै सार्वजनिक संस्करणमा उपलब्ध छैन। तर वोंगका अनुसार सिस्टम प्राम्प्टले यो “सामान्य च्याटबोटभन्दा धेरै अगाडि” रहेको प्रस्ट पार्छ। उक्त सहायकले यात्रुका प्रश्नको उत्तर दिनुका साथै, गाडीभित्रको तापक्रम नियन्त्रणजस्ता केही सुविधाहरू व्यवस्थापन गर्न सक्ने, आवश्यक परे यात्रुलाई ढाढस दिने क्षमतासमेत राख्ने बताइएको छ।

वेमो की प्रवक्ता जुलिया इलिनाले टेकक्रञ्चलाई भनेकी छन्, “हाल हामीसँग सार्वजनिक गर्न मिल्ने कुनै विवरण छैन। तर वेमो मा यात्रालाई अझ सहज, उपयोगी र रमाइलो बनाउने नयाँ फिचरहरूमा हाम्रो टोली निरन्तर प्रयोग गरिरहन्छ। तीमध्ये केही फिचर अन्ततः यात्रु अनुभवमा आउन सक्छन् वा नआउन पनि सक्छन्।”

जेमिनी यसअघि पनि अल्फाबेट अन्तर्गतको स्वचालित ड्राइभिङ कम्पनी वेमो को प्रणालीमा प्रयोग भइसकेको छ। वेमो का अनुसार जेमिनीको ‘वर्ल्ड नलेज’ प्रयोग गरेर स्वचालित सवारीलाई जटिल, दुर्लभ र उच्च जोखिमयुक्त परिस्थितिहरूमा कसरी प्रतिक्रिया दिने भन्ने प्रशिक्षण दिइएको छ।

वोंगका अनुसार, सहायकलाई स्पष्ट पहिचान र उद्देश्यसहित डिजाइन गरिएको छ—“वेमो को स्वचालित सवारीमा समाहित, मैत्री र सहयोगी एआई साथी,” जसको मुख्य लक्ष्य “यात्रुको अनुभव सुरक्षित, आश्वस्त र अवरोध नहुने तरिकाले उपयोगी जानकारी र सहयोग प्रदान गर्नु” हो।

सहायकलाई सरल र स्पष्ट भाषा प्रयोग गर्न, प्राविधिक शब्दजालबाट टाढा रहन, र उत्तर एकदेखि तीन वाक्यमै सीमित राख्न निर्देशन दिइएको छ।

सिस्टम प्रम्प्टअनुसार, यात्रुले गाडीभित्रको स्क्रिनमार्फत सहायक सक्रिय गरेपछि जेमिनीले यात्रुको पहिलो नाम प्रयोग गरेर पूर्व–स्वीकृत अभिवादनहरूमध्ये कुनै एक छान्न सक्छ। साथै, यात्रुले कति पटक वेमो यात्रा गरेका छन् जस्ता सन्दर्भगत जानकारीमा पनि प्रणालीले पहुँच पाउने उल्लेख छ।

टेकक्रञ्च हालका प्राम्प्टहरूले जेमिनीलाई तापक्रम, बत्ती र संगीतजस्ता इन–कार फिचर नियन्त्रण गर्न अनुमति दिन्छन्। तर आवाजको स्तर, रुट परिवर्तन, सिट समायोजन र झ्याल नियन्त्रण भने यस सूचीमा छैनन्। यदि यात्रुले जेमिनीले गर्न नसक्ने काम अनुरोध गरेमा, “अहिलेसम्म म यो गर्न सक्दिन” जस्ता आशावादी वाक्यांश प्रयोग गर्न निर्देशन दिइएको वोंगले उल्लेख गरेकी छन्।

रोचक कुरा के छ भने, सहायकलाई आफ्नो पहिचान (जेमिनी एआई) र स्वचालित ड्राइभिङ प्रविधि (वेमो ड्राइभर) बीच स्पष्ट भिन्नता राख्न निर्देशन दिइएको छ। उदाहरणका लागि, “तिमी बाटो कसरी देख्छौ?” भन्ने प्रश्नमा जेमिनीले “म विभिन्न सेन्सर प्रयोग गर्छु” भन्नु हुँदैन, बरु “वेमो ड्राइभरले विभिन्न सेन्सरहरूको संयोजन प्रयोग गर्छ” भनेर जवाफ दिनुपर्छ।

सिस्टम प्रम्प्टमा टेस्ला वा बन्द भइसकेको क्रुजजस्ता प्रतिस्पर्धी कम्पनीहरूसम्बन्धी प्रश्न कसरी सम्हाल्ने, वा कुन शब्द प्रयोग गर्दा सहायकले बोल्न बन्द गर्ने भन्ने जस्ता विवरण पनि समेटिएका छन्।

साथै, सहायकलाई वास्तविक–समयको ड्राइभिङ गतिविधि वा कुनै विशेष ड्राइभिङ घटनाबारे अड्कल काट्न, पुष्टि वा खण्डन गर्न, वा टिप्पणी गर्न निषेध गरिएको छ। उदाहरणका लागि, यात्रुले वेमो को कुनै दुर्घटनासम्बन्धी भिडियो देखेको भनेर सोधेमा, सहायकले प्रत्यक्ष उत्तर नदिई विषय मोड्नुपर्नेछ।

“तपाईंको भूमिका ड्राइभिङ प्रणालीको प्रदर्शनको प्रवक्ता बन्ने होइन, र तपाईंले बचाउ वा माफी माग्ने शैली अपनाउनु हुँदैन,” प्राम्प्टमा उल्लेख छ।
इन–कार सहायकले मौसम, एफिल टावरको उचाइ, नजिकको ट्रेडर्स जो’ज कति बजे बन्द हुन्छ, वा पछिल्लो वर्ल्ड सिरिज कसले जित्यो जस्ता सामान्य ज्ञानका प्रश्नको उत्तर दिन सक्छ। तर खाना अर्डर गर्ने, रेस्टुरेन्ट बुक गर्ने, वा आपतकालीन सेवा सम्हाल्ने जस्ता वास्तविक कार्यहरू गर्न भने उसलाई अनुमति छैन।

वेमो मात्र होइन, अन्य कम्पनीहरूले पनि ड्राइभरविहीन सवारीमा एआई सहायक समावेश गर्न थालेका छन्। टेस्लाले एक्सएआईको ग्रोक प्रयोग गरिरहेको छ। तर यी दुई सहायकका भूमिका फरक छन्— जेमिनी बढी व्यवहारिक र यात्राकेन्द्रित रूपमा डिजाइन गरिएको छ भने ग्रोकलाई लामो संवाद गर्न सक्ने, अघिल्ला प्रश्नहरूको सन्दर्भ सम्झन सक्ने ‘इन–कार साथी’ का रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार