एयुजी नेपालको भर्चुअल भेला: क्लाउडको भविष्य एजेन्ट–सञ्चालित बन्दै

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
एयुजी नेपालको भर्चुअल भेला: क्लाउडको भविष्य एजेन्ट–सञ्चालित बन्दै

काठमाडौं ।

अमेजन वेब सर्भिसेज युजर ग्रुप (एयुजी) नेपालको भर्चुअल भेलामा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित प्रविधि, क्लाउड कम्प्युटिङको भविष्य र विश्वव्यापी प्रवृत्तिबारे विस्तृत छलफल गरिएको छ।

उक्त भेलालाई सम्बोधन गर्दै बेलायतस्थित सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्शदाता कम्पनी जेनेस सलुशनका प्रमुख प्रविधि अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले अमेजन वेब सर्भिसेज (एडब्लुएस) स्पष्ट रूपमा ‘एजेन्ट–फर्स्ट प्लेटफर्म’ तर्फ अघि बढिरहेको बताए।

हालै लस भेगासमा सम्पन्न एडब्लुएस रिइन्भेन्ट सम्मेलनमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलसँगै सहभागी भएका कुँवरका अनुसार एडब्लुएसले क्लाउड निर्माण, सञ्चालन र सुरक्षाको मूल संरचनामै एआई एजेन्टहरू समावेश गरिरहेको छ।

“एडब्लुएसले डेभअप्स एजेन्टमार्फत कोड लेख्ने, आर्किटेक्चर डिजाइन गर्ने, प्रश्नहरूको उत्तर दिने तथा प्रोडक्सन प्रणालीको निगरानी गर्ने क्षमता विकास गरेको छ,” कुँवरले भने। “यसले सम्पूर्ण डेभअप्स जीवनचक्रलाई सहज र स्वचालित बनाइरहेको छ।” उनले  सुरक्षा एजेन्टहरूले क्लाउड वातावरणको निरन्तर निगरानी गर्दै शंकास्पद गतिविधि पहिचान गर्न र वास्तविक समयमै सुधारात्मक कदम चाल्न सक्ने बताए ।

“यसले सुरक्षालाई प्रतिक्रियात्मक अवस्थाबाट निरन्तर र सक्रिय मोडमा रूपान्तरण गरेको छ,” उनले भने। “केरो एजेन्टजस्ता समाधानहरू आधुनिकीकरणमा केन्द्रित छन् र जटिल लिगेसी प्रणाली भएका संस्थाहरूका लागि विशेष रूपमा प्रभावकारी छन्।”

कुँवरका अनुसार एआई अब क्लाउडमा थपिने साधारण फिचर होइन, बरु क्लाउडको ‘अपरेटिङ सिस्टम’ बन्दै गएको छ।

“हामी मानिसहरूले क्लाउड सञ्चालन गर्ने अवस्थाबाट एजेन्टहरूले सञ्चालन गर्ने र मानिसहरूले तिनको सुपरभिजन गर्ने युगतर्फ प्रवेश गर्दैछौँ,” उनले भने। “यी एजेन्टहरूलाई शक्ति प्रदान गर्ने नोभा–२ मोडेलहरू विभिन्न कार्यका लागि फरक–फरक भेरियन्टमा विकसित गरिएका छन्।”

“क्लाउडको भविष्य एजेन्ट–सञ्चालित हो, र त्यो भविष्य अहिले नै सुरु भइसकेको छ। अब सिक्ने र नेपालबाटै विश्वस्तरको प्रविधि विकास गर्न सक्छौँ भन्ने देखाउने समय आएको छ,” कुँवरले जोड दिए।

कार्यक्रममा कुँवरले जेनेस सलुशनद्वारा विकास गरिएको गम्प नामक एआई–सञ्चालित क्याम्पेन प्लेटफर्मबारे पनि जानकारी दिए, जुन बैंक तथा फिनटेक कम्पनीहरूका लागि समयसापेक्ष, सान्दर्भिक र व्यक्तिगत सन्देशमार्फत ग्राहकसँग प्रभावकारी रूपमा जोडिन मद्दत गर्छ।

गम्प हालै सम्पन्न एडब्लुएस शार्क ट्यांक प्रतियोगितामा साना तथा मध्यम व्यवसाय बजार खण्डका लागि उत्कृष्ट पाँच एजेन्टिक एआई समाधानमध्ये एकको रूपमा छनोट भएको थियो। उक्त प्रतियोगिता एडब्लुएस र इन्ग्राम माइक्रोको सहआयोजनामा एडब्लुएस रिइन्भेन्टकै अवसरमा सम्पन्न भएको हो।

“गम्पले जेनेसका इन्जिनियर तथा डेभलपरहरू अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी छन् भन्ने प्रमाणित गरेको छ,” कुँवरले भने। “हामीले नेपालबाटै विकास गरेको सफ्टवेयर विश्व बजारले गम्भीरतापूर्वक लिएको देख्दा गर्व महसुस भएको छ।”

कार्यक्रममा लिपफ्रगका सोलुसन आर्किटेक्ट अमित जोशीले एडब्लुएसका विभिन्न प्रविधि र प्रवृत्तिबारे प्रस्तुति दिएका थिए। “पाइथन अब नयाँ एसेम्बली भाषा बन्दै गएको छ,” जोशीले भने। “सुरक्षा अब प्रम्प्ट तहबाटै सुरु हुन्छ र गभर्नेन्स क्रमशः माथिल्लो तहमा सर्दै गएको छ।”

त्यसैगरी एडब्लुएस युजर ग्रुप नेपालकी सदस्य तथा एफवान सफ्टकी सूचना सुरक्षा विश्लेषक रोशनी श्रेष्ठले एडब्लुएस रिइन्भेन्ट सम्मेलनमा सहभागिता जनाउँदाको अनुभव सुनाइन्।

उनले विद्यार्थी तथा प्रारम्भिक करिअर चरणमा रहेका युवाहरूलाई यस्तो अन्तरराष्ट्रिय अवसरका लागि आवेदन दिन प्रेरित गरिन्। उक्त भर्चुअल भेलामा एडब्लुएस युजर ग्रुप नेपालका सदस्यहरू, प्रविधि पेशाकर्मी, विशेषज्ञ तथा प्राज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...