इन्टरनेटको गुणस्तर बढाउन नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
इन्टरनेटको गुणस्तर बढाउन नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट

काठमाडौं ।

नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी अर्थत् एक्सेस पोइन्ट उपलब्ध गराउने भएको छ। यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी अर्थात् एक्सेस पोइन्टसमेत उपलब्ध गराउने भएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ।

धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ।

कम्पनीका अनुसार ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ। इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ।

त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज वान्ली, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ।

नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर्न सकिन्छ।

त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार