
काठमाडौं ।
सिलिकन भ्यालीको रगत परीक्षण स्टार्टअप थेरानोसमा भएको ठगी उजागर गरेर चर्चित बनेका खोजी पत्रकार जोन क्यारेरूले ईलन मस्कको एक्सएआई, एन्थ्रोपिक, गुगल,ओपनएआई, मेटा प्लेटफर्म्स र पर्प्लेक्सिटीविरुद्ध सोमबार मुद्दा दायर गरेका छन्।
अनुमति बिना आफ्ना कपीराइट भएका पुस्तकहरू प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली प्रशिक्षण दिएको आरोप उनीहरूले लगाएका हुन्।
न्युयोर्क टाइम्सका रिपोर्टर तथा ब्याड ब्लड पुस्तकका लेखक क्यारेरूले पाँच अन्य लेखकहरूसँग मिलेर क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मुद्दामा एआई कम्पनीहरूले आफ्ना पुस्तकहरू ‘पाइरेट’ गरी ठूलो भाषा मोडेल (एलएलएम) मा प्रयोग गरेको आरोप लगाइएको छ, जसले ती कम्पनीका च्याटबोटहरू सञ्चालन गर्छन्।
एआई प्रशिक्षणका क्रममा कपीराइट सामग्री प्रयोग गरेको विषयमा प्रविधि कम्पनीहरूविरुद्ध लेखक तथा अन्य अधिकारधारकहरूले दायर गरेका कैयौँ मुद्दामध्ये यो पनि एक हो।
यस मुद्दामा एक्सएआई पहिलो पटक प्रतिवादीका रूपमा समावेश गरिएको छ। पर्प्लेक्सिटीका प्रवक्ताले कम्पनीले “पुस्तकहरू इन्डेक्स नगर्ने” बताएका छन्। अन्य प्रतिवादी कम्पनीहरूका प्रवक्ताहरूले भने मुद्दाबारे सोधिएको प्रश्नमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
रोयटर्सका अनुसार अन्य धेरै मुद्दाहरूभन्दा फरक रूपमा यी लेखकहरूले क्लास एक्शन मुद्दा दायर नगरेको बताएका छन्। उनीहरूका अनुसार यस्तो प्रकारको मुद्दाले प्रतिवादी कम्पनीहरूलाई धेरै वादीहरूसँग एकैपटक सस्तो सम्झौता गर्न सहज बनाउँछ। “एलएलएम कम्पनीहरूले हजारौँ उच्च-मूल्यका दाबीहरूलाई अत्यन्तै सस्तो दरमा सजिलै समाप्त गर्न पाउनु हुँदैन,” मुद्दामा भनिएको छ।
गत अगस्टमा एन्थ्रोपिकले एआई प्रशिक्षणसम्बन्धी कपीराइट विवादमा पहिलो ठूलो सम्झौता गरेको थियो। कम्पनीले लाखौँ पुस्तकहरू अवैध रूपमा प्रयोग गरेको आरोप लगाउने लेखकहरूको समूहलाई १.५ अर्ब अमेरिकी डलर तिर्न सहमति जनाएको थियो।
तर नयाँ मुद्दामा उक्त सम्झौताका वर्ग-सदस्यहरूले प्रत्येक उल्लङ्घन गरिएको कृतिका लागि कपीराइट ऐनले तोकेको अधिकतम १ लाख ५० हजार डलरको केवल २ प्रतिशत मात्र पाउने उल्लेख गरिएको छ।
सोमबार दायर गरिएको मुद्दा फ्रीडम्यान नर्म्याण्ड फ्राइडल्याण्ड कानुनी फर्मका वकिलहरूले दायर गरेका हुन्, जसमा काइल रोश पनि छन्। रोशलाई क्यारेरूले सन् २०२३ मा न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा प्रोफाइल गरेका थिए।
एन्थ्रोपिक विरुद्धको क्लास एक्शन मुद्दाको नोभेम्बर सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश विलियम एल्सपले रोश सह-स्थापक रहेको अर्को कानुनी फर्मप्रति आलोचना गरेका थिए। उनले लेखकहरूलाई सम्झौताबाट बाहिरिन उक्साएर “अझ मीठो सम्झौता” खोज्न लगाएको आरोप लगाएका थिए। रोशले सोमबार यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।
पछि भएको अर्को सुनुवाइमा क्यारेरूले न्यायाधीशसमक्ष एन्थ्रोपिक ले एआई निर्माणका लागि पुस्तक चोरी गर्नु नै कम्पनीको “मुख्य गल्ती” भएको र गरिएको सम्झौता पर्याप्त नभएको बताएका थिए।
प्रकाशित: ९ पुष २०८२, बुधबार