आफ्ना शक्तिशाली एच२०० चिप फेब्रुअरी मध्यतिर चीनमा पठाउने तयारीमा एनभिडिया

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
आफ्ना शक्तिशाली एच२०० चिप फेब्रुअरी मध्यतिर चीनमा पठाउने तयारीमा एनभिडिया
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी चिप निर्माता एनभिडियाले चिनियाँ ग्राहकहरूलाई फेब्रुअरी मध्यतिर पर्ने लुनार नयाँ वर्षअघिनै आफ्नो दोस्रो–सबैभन्दा शक्तिशाली एआई चिप चीन पठाउन सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ। यस विषयमा प्रत्यक्ष जानकारी भएका तीन स्रोतले बताएको रोयटर्सले उल्लेख गरेको छ।

स्रोतहरूका अनुसार एनभिडियाले प्रारम्भिक अर्डरहरू हालको स्टकबाटै पूरा गर्ने तयारी गरेको छ। सुरुवाती चरणमा ५ हजारदेखि १० हजार चिप मोड्युल पठाइने अपेक्षा गरिएको छ जुन करिब ४० हजारदेखि ८० हजार एच२०० एआई चिप बराबर हुन्छ।

एनभिडियाले चिनियाँ ग्राहकहरूलाई नयाँ उत्पादन क्षमता थप्ने योजनासमेत जानकारी गराइसकेको छ। स्रोतका अनुसार उक्त नयाँ क्षमताका लागि अर्डर प्रक्रिया २०२६ को दोस्रो त्रैमासिकमा खुल्नेछ। यद्यपि अनिश्चितता भने अझै कायम छ। बेइजिङले अहिलेसम्म कुनै पनि एच२०० खरिदलाई औपचारिक रूपमा स्वीकृति नदिएको र सरकारी निर्णयअनुसार समयरेखा परिवर्तन हुन सक्ने स्रोतहरूले बताएका छन्।

नीतिगत ठूलो परिवर्तन

स्रोतका अनुसार सम्पूर्ण योजना सरकारी स्वीकृतिमा निर्भर छ र आधिकारिक अनुमति नआएसम्म केही पनि निश्चित हुँदैन। एनभिडियाले रोयटर्सलाई दिएको विज्ञप्तिमा भनेको छ, “हामी आपूर्ति शृंखला निरन्तर व्यवस्थापन गरिरहेका छौं। चीनका लागि अनुमति प्राप्त ग्राहकहरूलाई एच२०० चिप बिक्री हुँदा अमेरिकाका ग्राहकहरूलाई आपूर्ति गर्ने हाम्रो क्षमतामा कुनै असर पर्ने छैन।”

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिन तत्काल तयार नभएको जनाएको छ।

यदि यी ढुवानीहरू अघि बढे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा २५ प्रतिशत शुल्कसहित चीनलाई एच२०० चिप बिक्री गर्न अनुमति दिने घोषणा गरेपछि चीनमा हुने पहिलो एच२०० ढुवानी हुनेछ।

गत साता रोयटर्सले ट्रम्प प्रशासनले चीनलाई एच२०० बिक्रीका लागि दिइएका लाइसेन्स आवेदनहरूबारे विभिन्न अमेरिकी सरकारी निकायबीच समीक्षा प्रक्रिया सुरु गरेको रिपोर्ट गरेको थियो। यसलाई ट्रम्पले बिक्री अनुमति दिने प्रतिबद्धता कार्यान्वयनमा ल्याएको कदमका रूपमा हेरिएको छ।

यो निर्णय जो बाइडेन प्रशासनको नीतिबाट ठूलो मोडका रूपमा आएको हो। बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षा चासो देखाउँदै चीनलाई उन्नत एआई चिप बिक्रीमा प्रतिबन्ध लगाएको थियो।

एच२०० अझै पनि मागमा

एनभिडियाको हपर शृंखलाअन्तर्गत पर्ने एच२०० चिप कम्पनीको अघिल्लो पुस्ताको उत्पादन भए पनि, अझै पनि एआई क्षेत्रमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ। यद्यपि यसलाई एनभिडियाका नयाँ ब्ल्याकवेल चिपहरूले प्रतिस्थापन गरिसकेका छन्। हाल एनभिडियाले ब्ल्याकवेल र आउँदै गरेको रुबिन शृंखलामा उत्पादन केन्द्रित गरेकाले एच२०० को आपूर्ति सीमित रहेको बताइएको छ।

ट्रम्पको निर्णय चीनले आफ्नो स्वदेशी एआई चिप उद्योग विकास गर्न तीव्र प्रयास गरिरहेको बेला आएको हो। तर चिनियाँ कम्पनीहरूले अहिलेसम्म एच२०० सरहको प्रदर्शन दिन सकेका छैनन्। यही कारण आयात खुला गरिँदा स्वदेशी प्रविधिको विकास सुस्त हुन सक्ने चिन्ता चिनियाँ नीतिनिर्माताहरूमा देखिएको छ।

यसै सन्दर्भमा चिनियाँ अधिकारीहरूले यसै महिनाको सुरुमा आपतकालीन बैठकहरू गरेका र एच२०० ढुवानीलाई अनुमति दिने–नदिने विषयमा छलफल भइरहेको रोयटर्सले जनाएको छ। एक प्रस्तावअनुसार, हरेक एच२०० खरिदसँग निश्चित अनुपातमा स्वदेशी चिप अनिवार्य रूपमा जोड्नुपर्ने व्यवस्था हुन सक्छ।

अलिबाबा समूह र बाइटडान्स जस्ता चिनियाँ प्रविधि दिग्गजहरूले एच२०० खरिदमा चासो देखाइसकेका छन्। यदि ढुवानी स्वीकृत भयो भने, उनीहरूलाई एनभिडियाले चीनका लागि डिजाइन गरेको कमजोर संस्करण एच२० भन्दा करिब छ गुणा शक्तिशाली प्रोसेसर प्रयोग गर्ने अवसर मिल्नेछ।

 

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार