Technology Khabar ८ पुष २०८२, मंगलवार
काठमाडौं ।
बहराइन खाडी सहयोग परिषद् (जीसीसी) भित्र स्याटेलाइट ‘डाइरेक्ट–टु–डिभाइस’ सेवा कार्यान्वयन गर्ने पहिलो देश बनेको छ। बहराइनको दूरसञ्चार नियामक प्राधिकरण (टीआरए) का अनुसार यो सेवामार्फत सामान्य मोबाइल फोनहरू भू-सतही नेटवर्कको पहुँच नपुग्ने क्षेत्रहरूमा समेत सिधै स्याटेलाइटसँग जोडिन सक्षम हुनेछन्।
टेलिकम्स डटकमका अनुसार यो सेवा टीआरएले सार्वजनिक गरेको परामर्श प्रतिवेदनपछि सुरु गरिएको हो। उक्त प्रतिवेदनलाई “कनेक्टिभिटी र डिजिटल नवप्रवर्तनमा बहराइनलाई विश्वस्तरीय अग्रणी बनाउने टीआरएको व्यापक रणनीतिको एक महत्वपूर्ण आधार” का रूपमा वर्णन गरिएको छ। यस सेवा उपलब्ध गराएसँगै सञ्चार सेवा जहिल्यै पहुँचयोग्य रहने टीआरएले जनाएको छ जसले “नागरिक, बासिन्दा र आगन्तुक सबैका लागि सुरक्षा, लचिलोपन र कनेक्टिभिटी मजबुत बनाउने” अपेक्षा गरिएको छ।
“स्याटेलाइट डाइरेक्ट–टु–डिभाइस सेवाले बहराइनको दूरसञ्चार प्रणालीमा महत्वपूर्ण प्रगति प्रतिनिधित्व गर्छ,” टीआरएका महानिर्देशक फिलिप मार्निकले भने। “जीसीसी भित्र यो प्रविधि स्वीकृत गर्ने पहिलो देश बनेर हामीले डिजिटल कनेक्टिभिटी र नवप्रवर्तनमा बहराइनको नेतृत्वलाई थप सुदृढ गरेका छौं। यस पहलले स्थलीय नेटवर्कको पहुँचभन्दा बाहिर पनि मानिसहरूलाई जोडिराख्ने सुनिश्चित गर्छ, जसले सुरक्षा, आर्थिक गतिविधि र राष्ट्रिय लचिलोपनलाई समर्थन गर्छ, साथै विश्वस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँछ।”
प्रेस विज्ञप्तिमा थप भनिएको छ, “स्याटेलाइट डाइरेक्ट–टु–डिभाइस सेवाको सुरुआतले राष्ट्रिय स्तरमा कनेक्टिभिटी विस्तार, उदीयमान प्रविधिको समर्थन तथा बहराइनको दूरसञ्चार संरचना भविष्य–उन्मुख र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग अनुरूप राख्ने टीआरएका निरन्तर प्रयासलाई उजागर गर्छ।”
हालसम्म कुन–कुन दूरसञ्चार अपरेटरले यो स्याटेलाइट सेवा उपलब्ध गराउने भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन। तर सम्बन्धित कम्पनीहरूले आफ्ना सेवाबारे क्रमशः जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ पुष २०८२, मंगलवार