Technology Khabar ८ पुष २०८२, मंगलवार
काठमाडौं ।
जुद्ध बारुण यन्त्र भक्तपुरले ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । सोमबार यहाँ चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधीको टोलीसँग छलफल भएको हो।
चिनियाँ टोलीमा सहभागी टिन जु, हि याङविन, वाई जिनकुन, यान झियानलगायतले बारुण यन्त्र कार्यालयको अवलोकन गर्नुका साथै ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
त्यस अवसरमा सम्भाव्यता अध्ययन गरी चिनियाँ सहयोगमा प्रविधि ल्याउनेबारे छलफल भएको उनले बताए।
चिनियाँ टोलीले कार्यालयमा कार्यरत आठ जना अग्निनियन्त्रकलाई अग्निनियन्त्रणका नवीन प्रविधि, ड्रोन प्रविधि र सीपसम्बन्धी तालिम प्रदान गर्ने सहमति भएको छ। यसका लागि चिनियाँ टोलीले यहाँ कार्यरत कर्मचारीलाई चीनमै लगेर तालिम प्रदान गर्ने सहमति भएको कार्यालयका प्रमुख धौभडेलले जानकारी दिए।
छलफलमा नेपाल उद्धार तथा अग्निनिवारण सङ्घका अध्यक्ष मधुसूदन थापा, ड्रोनहब नेपालका परियोजना व्यवस्थापक सुजित चौधरी, आप्सा नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील फुयाललगायतको सहभागितामा रहेको थियो।-रासस
प्रकाशित: ८ पुष २०८२, मंगलवार