Technology Khabar ७ पुष २०८२, सोमबार
काठमाडौं ।
युक्रेनले रुसका तीव्र गतिमा विकसित आत्मघाती ड्रोनहरू विरुद्ध हवाई रक्षा मजबुत बनाउन स्वदेशमै विकास गरिएको शक्तिशाली र कम लागतको नयाँ ‘ड्रोन किलर’ प्रयोग गरिरहेको जनाएको छ। हिउँले ढाकिएको मैदानमा तैनाथ एक विशेष युक्रेनी ड्रोन–शिकार टोलीले लामो रातका लागि निगरानी र प्रतिरक्षा सञ्चालन गर्दै आएको छ।
लाइट स्ट्यान्डमा जडान गरिएका एन्टेना र सेन्सर, कडा केसबाट निकालिएका मोनिटर र नियन्त्रण प्रणालीसँगै ‘स्टिङ’ नाम दिइएको थर्मोसको आकारको इन्टरसेप्टर ड्रोन प्रयोगका लागि तयार गरिन्छ । युनिटका कमान्डर, सैन्य प्रोटोकलअनुसार ‘लोइ’ भन्ने कल साइनले चिनिने अधिकारीका अनुसार यी इन्टरसेप्टरहरूले अहिले छिटो र उच्च उचाइमा उड्न थालेका रुसी ड्रोनहरूलाई प्रभावकारी रूपमा खसाल्न सक्षम छन् । उनले भने, “नष्ट गरिएको प्रत्येक ड्रोन भनेको हाम्रो घर, परिवार र ऊर्जा संरचनामाथि आक्रमण हुन नदिनु हो । शत्रु सुत्दैन, हामी पनि सुत्दैनौँ ।”
युक्रेनी सहर र विद्युत् पूर्वाधारमाथि राति हुने आक्रमणले किएभलाई महँगा मिसाइलमा निर्भर रहनुको सट्टा कम लागतमा, छिटो उत्पादन गर्न सकिने प्रणाली विकास गर्न प्रेरित गरेको हो । केही महिनामै प्रोटोटाइपबाट सामूहिक उत्पादनमा पुगेका यी इन्टरसेप्टरहरू आधुनिक युद्धमा द्रुत अनुकूलन र ठूलो सङ्ख्यामा उत्पादनको उदाहरण बनेका छन् ।
स्वयंसेवक–सञ्चालित स्टार्टअप ‘वाइल्ड हर्नेट्स’ ले बनाएका स्टिङ र नयाँ ‘बुलेट’ मोडेलले दुश्मन ड्रोनलाई पछ्याएर ठोक्किनुअघि तीव्र गति लिन सक्छन् । ती पाइलटहरूले मोनिटर वा पहिलो–व्यक्ति दृश्य चश्मामार्फत सञ्चालन गर्छन् । ‘बुलेट’ विकासमा संलग्न जनरल चेरी स्टार्टअपका रणनीतिक परिषद् सदस्य एन्ड्री लाभ्रेनोभिचका अनुसार यी इन्टरसेप्टरले १० हजारदेखि तीन लाख अमेरिकी डलरसम्म मूल्यका ड्रोन नष्ट गर्छन् । “यसले शत्रुलाई गम्भीर आर्थिक क्षति पुर्याउँछ”, उनले भने।
रुसले इरानी डिजाइनका साहेद ड्रोनसहित विभिन्न उन्नत संस्करण प्रयोग गरिरहेको छ। लाभ्रेनोभिचका अनुसार कतिपय क्षेत्रमा रुस अगाडि भए पनि कतिपयमा युक्रेनले नयाँ समाधान निकालेर लाभ लिएको छ। सिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसका रक्षा विश्लेषक फेडेरिको बोर्सारीले यी सस्ता इन्टरसेप्टरलाई आधुनिक हवाई रक्षाको महत्त्वपूर्ण हिस्सा बताए। उनले भने, “यसले हवाई रक्षाको लागत र मापनको समीकरण बदलिदिएको छ, तर यसलाई एक्लै सबै समस्याको समाधान ठान्नु हुँदैन ।”
विश्लेषकहरूका अनुसार यसको सफलता सेन्सर, छिटो कमान्ड–कन्ट्रोल र दक्ष अपरेटरमा निर्भर छ । युक्रेन र नाटोका योजनाकारहरूले सन् २०२६ सम्म दुवै पक्षमा ड्रोन उत्पादन अझ तीव्र हुने अपेक्षा गरेका छन् । यसले ‘ड्रोन वाल’ भनिने तहगत हवाई रक्षा प्रणाली निर्माण गर्ने युरोपेली योजनालाई पनि गति दिएको छ।
युक्रेनी ड्रोन निर्माता कम्पनीहरूले आगामी वर्ष अमेरिकी र युरोपेली कम्पनीहरूसँग सह–उत्पादन विस्तार गर्ने तयारी गरिरहेका छन्। युद्धमा परीक्षण गरिएका डिजाइन र डेटा पश्चिमी प्रविधि र लगानीसँग जोडिँदा उत्पादन वृद्धि हुनुका साथै युक्रेन नाटो आपूर्ति शृङ्खलामा समाहित हुने अपेक्षा गरिएको छ।
दीर्घकालमा स्वचालन बढ्दै जाने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त पूर्ण स्वायत्त ड्रोनले सैनिकहरूको ज्यान जोगाउन सहयोग गर्ने विश्वास युक्रेनी पक्षले व्यक्त गरेको छ। रासस/एपी
प्रकाशित: ७ पुष २०८२, सोमबार