
काठमाडौं ।
प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ। सामाजिक सञ्जाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेष गरी महिला तथा किशोरी हिंसाको सिकार हुने गरेका छन्।
इन्सेक, दलित महिला सङ्घ, सोसेक र जुरी नेपालले वीरेन्द्रनगर नगरपालिका-१ मा आयोजना गरेको ‘कानुनी सचेतना तथा सिफारिस प्रणालीको आवश्यकता विषयक छलफलमा प्रविधिलाई सदुपयोग गर्न सके फाइदा लिन सकिने तर सही प्रयोग गर्न नसके हिंसाको सिकार भइने जानकारी गराइएको छ।
वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसा र विभेदको सिकारका घटना बढेको बताए। उनले हिंसा र विभेद कानुनी रूपमा दण्डनीय भएकाले गाउँ समाजमा त्यस्ता काम नगर्न सुझाव दिए। साथै सामाजिक सञ्जालको सदुपयोग गर्न पनि उनले आग्रह गरे।
दलित महिला सङ्घ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले प्रविधिको दुरुपयोगले महिला र किशोरी बढी पीडित भएको पाइएको बताइन्। उनले सोच विचार गरेर प्रविधि चलाउनुपर्नेमा जोड दिँदै महिलाले गर्भदेखि नै हिंसा भोग्नु परेको उल्लेख गरिन्। समाजमा महिला तथा किशोरीमाथि घरेलु हिंसा, जातीय विभेद, मानव बेचबिखन जस्ता घटना भइरहेकाले सतर्क रहनसमेत उनले आग्रह गरिन्।
वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष दिनेश खत्रीले परम्परागत सोचले लैङ्गिक हिंसा बढ्दै गएको बताए। उनले रूढिवादी सोच हटाउन सके हिंसामा पनि कमी आउने जानकारी दिए।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी सचेतना दिँदै महिला तथा किशोरीमा भएका आपराधिक घटनामा कानुन अनुसार हुने सजायबारे अवगत गराए। साथै पीडितलाई न्याय प्राप्तिका लागि नेपाल प्रहरी, प्रशासन, अदालत, स्थानीय तहको न्यायिक समिति, वडा कार्यालय, सामाजिक सङ्घ संस्थासमक्ष जानुपर्ने सुझाव उनले दिए।
दलित महिला सङ्घका कार्यक्रम संयोजक मीना विश्वकर्माले मानव अधिकार सहायता कक्षबाट प्रदान गरिने सेवाबारे जानकारी दिइन्। साथै विभिन्न नौ वटा सामाजिक संस्थाको सहभागितामा जिल्लामा सिफारिस संयन्त्र गठन गरिएको र त्यसबाटै पीडितलाई न्याय प्राप्तिमा सहजीकरणका लागि न्यूनतम आर्थिक सहयोग गरिएको उनले बताइन्।
सिफारिस संयन्त्रबाट चालु आर्थिक वर्षमा करिब १७ जनाले सहयोग पाएका छन्। इन्सेकबाट सात जना पीडितले र दलित महिला सङ्घबाट १२ जनाले सेवा पाएको दलित महिला सङ्घ सुर्खेतका सचिव खगिसरा वलीले जानकारी दिइन्।
आजको गोरखापत्रबाट
प्रकाशित: ६ पुष २०८२, आईतवार