ह्याकिङ घटनासँग सम्बन्धित मुद्दामा एसके टेलिकमले ५८ जना प्रयोगकर्तालाई क्षतिपूर्ति दिनुपर्ने

  • Technology Khabar | ६ पुष २०८२, आईतवार
ह्याकिङ घटनासँग सम्बन्धित मुद्दामा एसके टेलिकमले ५८ जना प्रयोगकर्तालाई क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं ।

दक्षिण कोरियाको उपभोक्ता एजेन्सीले आइतबार एसके टेलिकमलाई हालैको ह्याकिङ घटनासँग सम्बन्धित मुद्दामा सामूहिक उजुरी दर्ता गरेका ५८ जना प्रयोगकर्तालाई क्षतिपूर्ति दिन आदेश दिने बताएको छ।

एजेन्सीका अनुसार बिहीबार बसेको बैठकले प्रत्येक उजुरीकर्तालाई नगद प्वाइन्ट र मोबाइल फोन बिल छुटसमेत गरी प्रति व्यक्ति १ लाख वोन (करिब ६७ अमेरिकी डलर) क्षतिपूर्ति दिन आदेश दिने निर्णय गरेको हो।

रोयटर्सका अनुसार यसै वर्ष साइबर सुरक्षा उल्लङ्घनका कारण देशकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एसके टेलिकमका २ करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चुहावट भएपछि कम्पनीलाई गत अगस्टमा १३४ अर्ब वोन जरिवाना गरिएको थियो।

एजेन्सीले उक्त घटनाबाट प्रभावित सबै पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न कम्पनीलाई निर्देशन दिने बताएको छ। यसका लागि लाग्ने कुल लागत करिब २.३ ट्रिलियन वोन पुग्ने अनुमान गरिएको छ।

एजेन्सीले यो आदेश यथाशीघ्र एसके टेलिकमलाई औपचारिक रूपमा पठाउने र आदेश प्राप्त भएको १५ दिनभित्र कम्पनीले जवाफ दिनुपर्ने जनाएको छ।

प्रकाशित: ६ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...