Technology Khabar ६ पुष २०८२, आईतवार
काठमाडौं ।
गेमिङ कम्पनी क्राफ्टनले एशियामा ६६६ मिलियन डलरको नयाँ लगानी कोषको नेतृत्व गर्ने भएको छ। गेमिङ बाहिर विस्तार गर्दै मुख्यतः भारतका प्रविधि स्टार्टअपहरूमा लगानी गर्न क्राफ्टनले दक्षिण कोरियाली कम्पनीहरू नेभर र मिराए एसेटसँग साझेदारी गरेको हो।
यो कोषको सुरुआतले भारतमा दक्षिण कोरियाको बढ्दो आर्थिक उपस्थितिलाई देखाउँछ। सरकारी तथ्यांकअनुसार सन् २०२५ को मध्यसम्म भारतमा दक्षिण कोरियाबाट भएको प्रत्यक्ष विदेशी लगानी करिब ६.८ अर्ब डलर पुगेको छ। चीनबाट आपूर्ति शृङ्खला र उपभोक्ता बजारमा निर्भरता घटाउने उद्देश्यले सोलले भारतमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको रोयटर्सले उल्लेख गरेको छ।
‘युनिकर्न ग्रोथ फन्ड’ भारतमा यी तीन ठूला दक्षिण कोरियाली कम्पनीबीचको पहिलो ठूलो संयुक्त पहल हो। भारतमा क्राफ्टन मुख्यतः आफ्नो मोबाइल खेल ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया (बीजीएमआई) का कारण परिचित छ।
क्राफ्टनले शुक्रबार जारी गरेको बयानअनुसार मिराए एसेट भेन्चर इन्डियाले व्यवस्थापन गर्ने यो कोष जनवरी २०२६ देखि सञ्चालनमा आउनेछ। सुरुमा ३३३ मिलियन डलरभन्दा बढीको पूँजीबाट काम थालेर पछि लक्ष्यअनुसार विस्तार गरिनेछ। क्राफ्टनले यसअघि पनि भारतमा २०० मिलियन डलरभन्दा बढी लगानी गरिसकेको छ जसमा नियामक अनिश्चितता धेरै हुने गेमिङ क्षेत्रसमेत समावेश छ।
हाल २४० मिलियनभन्दा बढी डाउनलोड भएको बीजीएमआईले पछिल्ला वर्षहरूमा डाटा सुरक्षासम्बन्धी चिन्ताका कारण अस्थायी प्रतिबन्धको सामना गरेको थियो।
भारत सरकारले सन् २०२० मा चीनसँग डाटा साझा गरिएको आशंका देखाउँदै क्राफ्टनको लोकप्रिय खेल प्लेयरअननोन’स ब्याटलग्राउन्ड्स (पीयूबीजी) प्रतिबन्ध लगाएपछि बीजीएमआई भारतमा सार्वजनिक गरिएको थियो।
प्रकाशित: ६ पुष २०८२, आईतवार