वेफर आपूर्तिका लागि नेक्सपेरियाको चिनियाँ इकाईले स्थानीय कम्पनीहरुसँग सम्झौता गर्यो

Technology Khabar ६ पुष २०८२, आईतवार

काठमाडौं ।

नेदरल्यान्ड्सस्थित नेक्सपेरियाको चिनियाँ इकाइले सन् २०२६ का लागि आफ्नो प्रमुख उत्पादनको सम्पूर्ण उत्पादन धान्ने गरी स्थानीय कम्पनीहरूसँग सिलिकन वेफर आपूर्तिको सम्झौता गरेको कागजातले देखाएको छ। कर्पोरेट विवादका कारण डच कम्पनीले कच्चा पदार्थ आपूर्ति रोकेपछि यो कदम चालिएको हो।

दुई महिनाअघि नेक्सपेरियाको युरोपेली व्यवस्थापनबाट आफू स्वतन्त्र भएको घोषणा गरेको उक्त चिनियाँ इकाइले अब इन्सुलेटेड–गेट बाइपोलार ट्रान्जिस्टर (आईजीबीटी) पावर चिप र मोड्युल उत्पादन निरन्तर गर्न सक्नेछ। यी चिपहरू विद्युतीय सवारी साधन र औद्योगिक उपकरणमा करेन्ट नियन्त्रण गर्न प्रयोग हुन्छन्।

यो विवाद सेप्टेम्बरमा डच सरकारले चिनियाँ मूल कम्पनी विङटेकबाट नेक्सपेरियाको नियन्त्रण लिँदा सुरु भएको थियो। शासनसम्बन्धी समस्याको कारण देखाउँदै डच सरकारले यस्तो कदम चालेको थियो।

अक्टोबरको अन्त्यतिर नेदरल्यान्ड्सले चिनियाँ इकाइलाई वेफर आपूर्ति निलम्बन गर्‍यो भने डच अदालतले विङटेकका संस्थापकलाई नेक्सपेरियाको प्रमुख कार्यकारी पदबाट हटाउन आदेश दियो।

रोयटर्सका अनुसार यसको प्रतिक्रियामा बेइजिङले नेक्सपेरियाका तयार चिपहरूको निर्यात रोकेको थियो, जसका कारण विश्वव्यापी अटोमोबाइल निर्माताहरूलाई चिप अभावको समस्या देखिएको थियो।

गत महिना दुवै सरकारले आफ्ना कदम केही खुकुलो पारे पनि नेक्सपेरियाको नियन्त्रणलाई लिएर अदालतमा मुद्दा र आन्तरिक संघर्ष जारी छ। दीर्घकालीन समाधान नआए आपूर्ति अवरोध फेरि हुन सक्ने चेतावनी चीन र विङटेक दुवैले दिएका छन्।

यसै महिनाको सुरुमा वितरकहरूलाई पठाइएको र पत्रमा नेक्सपेरिया चीन इकाइले २०२६ का लागि आईजीबीटी उत्पादनमा प्रयोग हुने वेफर स्थानीय आपूर्तिकर्ताबाट सुरक्षित गरेको र पर्याप्त आपूर्ति सुनिश्चित गर्न विङटेकको फाउन्ड्री विङ्स्की सेमीबाट आउने वेफरको प्रमाणीकरण प्रक्रिया तीव्र बनाइरहेको जनाएको छ।

पहिल्यै सार्वजनिक नभएको यो कदमले नेक्सपेरिया चीन र यसको डच मूल कम्पनीबीच आपूर्ति शृङ्खलामा थप अलगाव देखाएको छ जसले अन्ततः पूर्ण विभाजनतर्फ लैजान सक्ने संकेत गरेको छ।

नेक्सपेरियाले रोयटर्सलाई आफू चिनियाँ सहायक कम्पनीसँग सम्पर्कमा नरहेको र उक्त इकाइले ग्राहकहरूलाई चिप आपूर्ति पुनः सुरु गर्न छोटो अवधिको समाधानका लागि वार्ता गर्ने कुनै इच्छा नदेखाएको बताएको छ।

नेक्सपेरिया चीनले टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। बेइजिङले गत साता डच सरकारलाई नेक्सपेरिया र विङटेकबीच वार्ता प्रोत्साहित गर्ने सहमतिलाई कार्यान्वयन गर्न र चिप निर्माता कम्पनीलाई सकेसम्म चाँडो चीन पठाएर वार्ता गराउन आग्रह गरेको छ।

प्रकाशित: ६ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया