अमेरिकी प्रतिबन्ध छल्न बाइटडान्सले गर्यो संयुक्त रुपमा सञ्चालन हुने मोडलमा हस्ताक्षर

Technology Khabar ४ पुष २०८२, शुक्रबार

काठमाडौं ।

टिकटकको चिनियाँ मालिक बाइटडान्सले टिकटकको अमेरिकी एपको सञ्चालन नियन्त्रण अमेरिकी र विश्वव्यापी लगानीकर्तालाई दिने संयुक्त उद्यम गठन गर्न बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको छ। यो अमेरिकामा प्रतिबन्ध टार्न र वर्षौँदेखिको अनिश्चितता अन्त्यतर्फ ठूलो कदम भएको बुझिएको छ।

१७० मिलियनभन्दा बढी अमेरिकीले नियमित प्रयोग गर्ने यो छोटो भिडियो एपका लागि यो सम्झौता महत्वपूर्ण मानिएको छ। सन् २०२० अगस्टमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षाको चिन्ता देखाउँदै एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेपछि सुरु भएका विवादहरू पछि यो मोड आएको हो।

सम्झौताका विवरण सेप्टेम्बरमा सार्वजनिक गरिएका खाकासँग मिल्दोजुल्दो छन्। त्यतिबेला ट्रम्पले चिनियाँ मालिकले बिक्री नगरेसम्म एप प्रतिबन्ध गर्ने कानुनको कार्यान्वयन जनवरी २० सम्मका लागि स्थगित गरेका थिए र २०२४ को कानुनअन्तर्गत विनिवेशका सर्तहरू पूरा भएको घोषणा गरेका थिए।

रोयटर्सका अनुसार नयाँ अमेरिकी कम्पनीको मूल्य करिब १४ अर्ब डलर हुने उपराष्ट्रपति जेडी भान्सले सेप्टेम्बरमा बताएका थिए। यो विश्लेषकहरूको अनुमानभन्दा कम थियो र अन्तिम मूल्य बिहीबार सार्वजनिक गरिएन।

सम्झौताअनुसार क्लाउड कम्प्युटिङ कम्पनी ओरेकल, निजी इक्विटी समूह सिल्भर लेक र अबु धाबीस्थित एमजिएक्ससहितका अमेरिकी र विश्वव्यापी लगानीकर्ताले नयाँ टिकटक यूएसडीएस ज्वाइन्टभेन्चर एलएलसीमा ८०.१ प्रतिशत सेयर राख्नेछन् भने बाइटडान्सको हिस्सेदारी १९.९ प्रतिशत रहनेछ।

ह्वाइट हाउसले सेप्टेम्बरमा नयाँ संयुक्त उद्यमले टिकटकको अमेरिकी एप सञ्चालन गर्ने जनाएको थियो। तर नयाँ संयुक्त उद्यम र बाइटडान्सबीचको व्यावसायिक सम्बन्धलगायत विषयमा अझै प्रश्न बाँकी छन्। ह्वाइट हाउसले बिहीबार सम्झौतासम्बन्धी प्रश्नहरू टिकटकतर्फ पठाएको थियो।

एउटा आन्तरिक मेमोअनुसार टिकटकका सीईओ शोउ जि च्यूले कर्मचारीलाई संयुक्त उद्यम “अमेरिकी डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन र सफ्टवेयर सुनिश्चिततामा अधिकारसहित स्वतन्त्र इकाइका रूपमा सञ्चालन हुनेछ” भन्ने उल्लेख भएको रोयटर्सले जनाएको छ। उनले टिकटक ग्लोबलका अमेरिकी इकाइहरूले ई–कमर्स, विज्ञापन र मार्केटिङसहित केही व्यावसायिक गतिविधि र विश्वव्यापी उत्पादन अन्तरसञ्चालन अलग्गै व्यवस्थापन गर्ने पनि बताएका छन्।

राष्ट्रपति जो बाइडेनको कार्यकालमा राष्ट्रिय सुरक्षा परिषद्‌मा काम गरेका रश दोषीले एल्गोरिदम हस्तान्तरण, लाइसेन्स वा अझै बेइजिङकै नियन्त्रणमा छ कि छैन भन्ने स्पष्ट नभएको बताए। उनका अनुसार ओरेकलले केवल “अनुगमन” मात्र गरिरहेको हुन सक्छ। सेप्टेम्बरमा चिनियाँ मिडियाले बाइटडान्सले ठूलो वा सञ्चालनात्मक भूमिका जारी राख्ने रिपोर्ट गरेका थिए। एक चिनियाँ वित्तीय पत्रिकाले सम्झौतासँग नजिकका स्रोतलाई उद्धृत गर्दै बाइटडान्सले नयाँ टिकटक संयुक्त उद्यमबाट केही आम्दानी पाउने अमेरिकी इकाइ स्थापना गर्ने योजना बनाएको जनाएको थियो।

जनवरी २२ मा बन्द हुने तय भएको यो सम्झौताले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण बाइटडान्सलाई अमेरिकी व्यवसायबाट अलग गराउने वर्षौँदेखिका प्रयासहरू अन्त्य गर्ने अपेक्षा गरिएको छ। चीनसम्बन्धी हाउस सेलेक्ट कमिटीका अध्यक्ष रिपब्लिकन सांसद जोन मुलिनारले सन् २०२६ मा नयाँ टिकटक इकाइको नेतृत्वलाई सुनुवाइमा बोलाउने यसअघि बताएका थिए।

टिकटकका अनुसार सम्झौतामा नयाँ इकाइका सात सदस्यीय बोर्डमध्ये एक जनालाई बाइटडान्सले नियुक्त गर्ने व्यवस्था छ भने बाँकी बहुमत सिट अमेरिकीहरूले ओगट्नेछन्। ओरेकलले “विश्वसनीय सुरक्षा साझेदार” का रूपमा अनुपालनको अडिट र प्रमाणीकरण गर्नेछ। यसअन्तर्गत संवेदनशील अमेरिकी प्रयोगकर्ताको डाटा अमेरिकामै ओरेकलद्वारा सञ्चालित सुरक्षित क्लाउड वातावरणमा भण्डारण गरिने मेमोमा उल्लेख छ।

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया