
काठमाडौं ।
ट्रम्प मिडिया एन्ड टेक्नोलोजी र फ्युजन ऊर्जा कम्पनी टीएई टेक्नोलोजिजले ६ अर्ब डलरभन्दा बढी मूल्यांकन भएको सबै–शेयर सम्झौतामार्फत एकीकृत हुने सहमति गरेको कम्पनीहरूले बिहीबार बताएका छन्।
सम्झौता सन् २०२६ को मध्यतिर सम्पन्न भएपछि दुवै कम्पनीका सेयरधनीले संयुक्त कम्पनीको करिब ५०–५० प्रतिशत स्वामित्व राख्नेछन्। ट्रम्प मिडिया संयुक्त कम्पनीको होल्डिङ कम्पनी हुनेछ, जसअन्तर्गत ट्रुथ सोशल, ट्रुथ+, टीएई पावर सोलुसन्स र टीएई लाइफ साइन्सेजजस्ता व्यवसाय रहनेछन्।
कम्पनीका अनुसार ट्रम्प मिडियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेभिन नुनेस नयाँ कम्पनीका सह–सीईओ हुनेछन्। उनीसँगै टीएई टेक्नोलोजिजका सीईओ तथा निर्देशक मिखल बिन्डरबाउर पनि सह–सीईओ रहनेछ रोयटर्सले उल्लेख गरेको छ।
खुद्रा लगानीकर्तामाझ लोकप्रिय मानिएको ट्रम्प मिडिया एन्ड टेक्नोलोजीको सेयर प्रिमार्केट कारोबारमा ३१ प्रतिशतभन्दा बढी उकालो लागेको छ। टीएई टेक्नोलोजिजले स्वच्छ ऊर्जासम्बन्धी समाधान उपलब्ध गराउँदै आएको छ, जसमा विद्युतीय सवारीसाधनको पावर व्यवस्थापन र लक्षित क्यान्सर उपचारसम्बन्धी प्रविधि पनि समावेश छन्।
प्रकाशित: ४ पुष २०८२, शुक्रबार