Technology Khabar ४ पुष २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलले जापानको स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले बनेका नयाँ कानुनको पालना गर्दै बुधबार जापानमा आईफोनमा वैकल्पिक एप स्टोर खोल्ने अनुमति दिएको जनाएको छ।
एप्पलका नयाँ नियमअनुसार जापानी डेभलपरहरूले आईफोनका लागि आफ्नै एप मार्केटप्लेस सुरु गर्न सक्नेछन्। ती मार्केटप्लेस र एपमार्फत हुने बिक्रीबाट एप्पलले न्यूनतम ५ प्रतिशत मात्र शुल्क लिनेछ।
रोयटर्सका अनुसार डेभलपरहरूले एप्पलको एप स्टोरमार्फत वितरण हुने एपमा आफ्नै इन-एप भुक्तानी प्रणाली पनि उपलब्ध गराउन पाउनेछन्। तर एप्पलले आफ्नो इन-एप भुक्तानी विकल्प पनि सँगसँगै रहने र डेभलपरहरूले अझै पनि एप्पललाई कमिसन तिर्नुपर्ने जनाएको छ।
जापान एप्पलको एप स्टोर व्यवसाय मोडेलमा परिवर्तन गराउन थालेको पछिल्लो क्षेत्र हो। लामो समयदेखि डेभलपरहरूले डिजिटल सामग्री र सेवाको इन-एप खरिदमा ३० प्रतिशतसम्म कमिसन तिर्दै आएका थिए।
अमेरिकामा एप्पल अझै डेभलपरसँग लिन पाउने शुल्कबारे कानुनी लडाइँमा रहेको छ भने युरोपमा भने आईफोनलाई वैकल्पिक एप मार्केटप्लेसका लागि खोल्नुपर्ने व्यवस्था लागू भइसकेको छ।
एप्पलका अनुसार जापानको व्यवस्था युरोपको भन्दा आधारभूत रूपमा फरक छ। यस प्रणालीअन्तर्गत वैकल्पिक एप मार्केटप्लेसलाई स्वीकृति दिने अधिकार एप्पलकै हातमा रहनेछ। साथै, आफ्नै एप स्टोरमा जस्तै वैकल्पिक मार्केटप्लेसमा बिक्री हुने एपका लागि उमेरसम्बन्धी रेटिङ पनि अनिवार्य गरिएको छ।
एप्पलले वैकल्पिक मार्केटप्लेसमार्फत वितरण हुने सबै एपमा ‘नोटराइजेसन’ नामको आधारभूत सुरक्षा जाँच पनि गर्ने जनाएको छ।
जापानमा एप्पलको एप स्टोर प्रयोग गर्ने डेभलपरहरूले एप बाहिर भुक्तानी गर्न सकिने लिंक दिन पाउनेछन्, जसको बदलामा एप्पलले १५ प्रतिशत कमिसन लिनेछ। सामान्य एप स्टोर खरिदमा भने २६ प्रतिशत शुल्क लाग्नेछ।
जापानको कानुनले आईफोनको हार्डवेयर तेस्रो पक्षका उपकरण निर्माताका लागि खोल्न पनि एप्पललाई बाध्य बनाएको छ। तर यो व्यवस्था युरोपको कानुनभन्दा फरक ढंगले लागू गरिएको छ।
एप्पलले जापानमा अन्तरक्रियात्मकता सम्बन्धी अनुरोधका लागि प्रणाली बनाएको भए पनि प्रयोगकर्ताको संवेदनशील डाटा जोखिममा पर्न सक्ने अवस्थामा त्यस्ता अनुरोध अस्वीकार गर्न सकिने जनाएको छ।
यी सबै परिवर्तनमार्फत नयाँ कानुनले सिर्जना गर्ने गोपनीयता र सुरक्षा जोखिम कम गर्ने प्रयास गरिएको र जापानका प्रयोगकर्तालाई सकेसम्म सुरक्षित अनुभव दिन काम गरिएको एप्पलले आफ्नो ब्लगमा उल्लेख गरेको छ।
प्रकाशित: ४ पुष २०८२, शुक्रबार