
काठमाडौं ।
युरोपेली सङ्घले सन् २०३५ मा पेट्रोल र डिजेल कारमा लगाएको प्रतिबन्ध फिर्ता लिने निर्णय ‘ऐतिहासिक भुल’ भएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार बताएका छन्।
म्याड्रिडमा आयोजित जलवायु सम्मेलनमा उनले भने, “हिजो जे स्वीकृत भयो त्यो युरोपका लागि ऐतिहासिक गल्ती हो। प्रतिस्पर्धा हाम्रा प्रतिबद्धतालाई खुकुलो बनाएर होइन, दिगोपनाबाट सुनिश्चित हुन्छ।” सन् २०२३ मा जलवायु परिवर्तनविरुद्धको लडाईमा दहन–इन्जिन प्रतिबन्धलाई ठूलो जीतको रूपमा स्वागत गरिएको थियो।
प्रतिबद्धतालाई हटाउँदा विद्युतीय सवारीमा परिवर्तन सुस्त हुने, इयूको हरित एजेन्डालाई कमजोर पार्ने र विद्युतीकरणमा लगानी रोक्ने जोखिम हुने स्पेन, फ्रान्स र नर्डिक देशहरूले चेतावनी दिएका छन्।
चीनबाट कडा प्रतिस्पर्धा र इलेक्ट्रिक सवारीमा अपेक्षा गरिएको भन्दा ढिलो परिवर्तनको सामनापछि युरोपेली कार निर्माता र उनीहरूका समर्थकहरूले गत वर्ष प्रतिबन्ध खुकुलो पार्न ब्रसेल्सलाई कडा पहल गरेका थिए।
वातावरणीय समूहहरूले अस्वीकार गरेका प्रस्तावहरू अन्तर्गत, कार निर्माताहरूले अब नयाँ सवारी साधनहरूबाट निस्कने उत्सर्जनलाइ सन् २०२१ को स्तरबाट ९० प्रतिशतले घटाउनु पर्नेछ । बाँकीलाई विभिन्न उपायले ‘क्षतिपूर्ति’ दिइनेछ। जर्मनीपछि स्पेन युरोपको दोस्रो ठूलो कार उत्पादक देश हो ।
यद्यपि, जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपेली सङ्घको नयाँ प्रस्तावको स्वागत गर्दै भनेका छन् “प्रविधिमा बढी खुलापन र लचिलोपन सही कदम हो।”-रासस/एएफपी
प्रकाशित: ४ पुष २०८२, शुक्रबार