अस्ट्रियामा डाटा संरक्षणको विषयलाई लिएर टिकटक, ग्रिण्डर र एप्सफ्लायर विरुद्ध उजुरी

Technology Khabar २ पुष २०८२, बुधबार

काठमाडौं ।

गोपनीयता अधिकारका लागि काम गर्ने समूह एनओवाईबीले बुधबार अस्ट्रियाको डाटा संरक्षण प्राधिकरणमा टिकटक, ग्रिण्डर र एप्सफ्लायरविरुद्ध उजुरी दर्ता गरेको छ।

यी कम्पनीहरूले क्षेत्रीय गोपनीयता कानुन उल्लङ्घन गरेको र संवेदनशील डाटा बाहिरिन सक्ने जोखिम सिर्जना गरेको आरोप लगाइएको छ।

भियनामा आधारित नन अफ योर बिजनेस (एनओवाईबी) ले प्रयोगकर्ताको सहमति बिना विभिन्न एपहरूमा भएका गतिविधि ट्र्याक गरेर ती कम्पनीहरूले युरोपेली संघको गोपनीयता कानुन उल्लङ्घन गरेको दावी गरेको छ।

एनओवाईबीका अनुसार, टिकटक ले डेटा कम्पनी एप्सफ्लायर मार्फत एक प्रयोगकर्ताको ग्रिण्डर प्रयोगसम्बन्धी गतिविधि ट्र्याक गरेको थियो, जसले युरोपेली संघको सामान्य डाटा संरक्षण नियम (जीडीपीआर) उल्लङ्घनको चिन्ता बढाएको छ।

एनओवाईबीले अस्ट्रियाली नियामकहरूलाई जरिवाना लगाउन र यस्ता गतिविधि तुरुन्त रोक्न कम्पनीहरूलाई बाध्य पार्न आग्रह गरेको छ।

टिकटक, ग्रिण्डर र एप्सफ्लायर का अधिकारीहरू टिप्पणीका लागि तत्काल उपलब्ध नभएको जनाइएको छ।

एनओवाईबीका अनुसार चीनको बाइटडान्स स्वामित्वमा रहेको टिकटक र व्यापक रूपमा प्रयोग हुने तेस्रो लिङ्गी डेटिङ एप ग्रिण्डरले संवेदनशील प्रयोगकर्ता जानकारी गैरकानुनी रूपमा साझा गरेका छन्। मोबाइल मार्केटिङ एनालिटिक्समा काम गर्ने एप्सफ्लायरले भने अनुमति बिना डाटा स्थानान्तरण गर्न सहयोग गरेको आरोप लगाइएको छ।

एनओवाईबीले रोयटर्सलाई बताएअनुसार डाटा पहुँचको अनुरोधमार्फत प्रयोगकर्ताले टिकटकले अन्य एपहरूबाट संवेदनशील जानकारी लिएको पत्ता लगाएका थिए। ती जानकारीमा व्यक्तिको ग्रिण्डर र लिङ्क्डइन प्रयोग साथै किनमेल कार्टमा राखिएको एउटा सामानसम्बन्धी विवरण पनि समावेश थियो।

टिकटकले पटक–पटक सोधपुछ गरेपछि मात्र ती जानकारी प्रयोगकर्तालाई दिएको थियो जसले जीडीपीआरको पारदर्शिता सम्बन्धी नियम पालना नगरेको देखिन्छ।

एनओवाईबीका अनुसार टिकटकले उक्त डाटा व्यक्तिगत विज्ञापन, विश्लेषण र सुरक्षाजस्ता उद्देश्यका लागि प्रयोग गरिएको बताएको छ। एनओवाईबीले यौन झुकावजस्ता संवेदनशील जानकारीलाई जीडीपीआरले विशेष संरक्षण दिएको बताउँदै यस्ता विवरणले भेदभाव निम्त्याउन सक्ने जनाएको छ।

एनओवाईबीका अनुसार, एप्सफ्लायर वा ग्रिण्डर दुवैसँग प्रयोगकर्ताको डेटा टिकटक सँग साझा गर्न कानुनी आधार थिएन। यसअघि, चीनतर्फ डेटा स्थानान्तरणसम्बन्धी चिन्ताका कारण आयरल्याण्डले मे महिनामा टिकटक लाई ५३० मिलियन युरो जरिवाना लगाएको थियो।

उता, ग्रिण्डरले २०१८ देखि २०२० सम्म प्रयोगकर्ताको सहमति बिना एचआईभी अवस्था तेस्रो पक्षसँग साझा गरेको आरोपमा लन्डनमा सामूहिक मुद्दाको सामना गरिरहेको छ।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया