निर्वाचन आचार संहिताको मस्यौदा तयार: सञ्चारमाध्यम र सामाजिक सञ्जाल लगायत डिजिटल माध्यममा कस कसले के के गर्न पाइन्न?

Technology Khabar १ पुष २०८२, मंगलवार

काठमाडौं ।

सरकारले निर्वाचन आचार संहिताको मस्यौदा तयार पारेको छ। निर्वाचन आयोग ऐन २०७३ दफा २२ ले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगले यो आचारसंहिता तयार पारेको हो।

यसको मुख्य उद्देश्य निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्नु भएको बताइएको छ। यो आचारसंहिताका व्यवस्था आयोगले तोकेको मितिबाट तोकेको क्षेत्रमा लागू हुने व्यवस्था गरिएको छ।

यो आचारसंहिता मतदाता, मतदान अधिकृत, अनुगमन अधिकृत, अनुगमन  समिति, अनुगमन घुम्ती टोली, उम्मेदवार, राजनीतिक दल, कार्यकर्ता, भ्रातृ संगठन, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सम्बैधानिक निकाय, मन्त्री, कर्मचारी, सुरक्षा निकाय, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारकर्मी, शिक्षक, गैर सरकारी निकायका कर्मचारी लगायत सबैका लागि लागू हुनेछ।

सबैले के के गर्न पाइन्न?

सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न गराउन हुँदैन।

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुट्टा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन हुँदैन।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण हेट स्पीच जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन हुँदैन।

कुनै प्रयोजनको लागि प्रकाशन प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर ट्याग कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन हुँदैन।

कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन हुँदैन।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न वा त्यस्ता सामग्रीमा प्रतिक्रिया दिन हुँदैन।

निर्वाचन पदाधिकारीले के के गर्न पाइन्न?

सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश सूचना प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जालमार्फत्मत माग्न हुँदैन।

राजनीतिक दलको डिजिटल बोर्ड फ्लेक्स वा ग्लोसाइन बोर्ड राख्न श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न हुँदैन।

अनलाइन वेबपेज, टीभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटीएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन पाइँदैन।

तर राजनीतिक दल वा उम्मेदवारको बढीमा एउटा नीजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार प्रसार सामग्री राख्न बाधा नपर्ने आचारसंहितामा उल्लेख छ।

सवारीसाधनका हकमा

राजनीतिक दलले विद्युतीय तथा यान्त्रिका शक्तिबाट चल्ने हलुका सवारी साधन मात्र चलाउन पाउनेछन्।

सञ्चारमाध्यमका हकमा

राजनीतिक दल उम्मेदवार तथा भातृ संगठनले प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग गर्दा टेलिभिजन रेडियो वा एफएमको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्छन

पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७X७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री मात्र छपाउन सक्छन्।

स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन रेडियो वा एफएमको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा बढीमा एक मिनेटसम्म मात्र प्रसारण गराउन सकिन्छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म मात्र प्रसारण गर्न पाउनेछन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७X७ इन्च आकारसम्मको कुनै एक पत्रिकामा मात्र प्रचार सामग्री छपाउन पाउनेछन्।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवाले टेलिभिजन रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने र पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येकदिन ७७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्रा प्रचार सामग्री छपाउन सक्नेछन्।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन रेडियो वा एफएमको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने र पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने

विदेशी सञ्चारमाध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन।

मतदानको दिनभन्दा अठचालीस दिनअघिदेखि

सामाजिक सञ्जाल अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन हुँदैन।

मतदान स्थालमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ मोबाइल क्यामरा साथमा लिएर जान हुँदैन।

मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुट्टा अफवाह भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन हुँदैन।

कसैको पक्ष वा विपक्षमा एमएमएस सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन प्रसारण वा सम्प्रेषण गर्न हुँदैन।

राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सार्वजनिक रुपमा वा आमसञ्चार माध्यममा कुनै टिका टिप्पणी गर्न हुँदैन।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निशुल्क विज्ञापन प्रकाशन प्रसारण वा सम्प्रेक्षण गर्न हुँदैन।

दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सशसल्क भएको जनाउ दिनुपर्छ।

तर मतदान हुने दिनको अघिल्लव ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म त्यस्तो विज्ञापन प्रकशन प्रसारण वा सम्प्रेषण गर्न हुँदैन।

कसैको पक्ष वा विपक्षमा एमएमएस सामाजिक सञ्जाल अनलाइन छापाजस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री समाजिक सञ्जालमा शेयर ट्याग कमेन्ट वा प्रतिकमेन्ट गर्न हुँदैन।

सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न हुँदैन।

राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान प्रतिष्ठा इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न हुँदैनर

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक शो टिप्पणी विश्लेषण प्रश्नोत्तरजस्ता कार्यक्तम गर्न हुँदैन।

निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख तस्बिर वा समाचार प्रकाशन वा प्रसारण गर्न हुँदैन।

नेपालको निर्वाचन राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुन प्रकाशन वा प्रसारण गर्न हुँदैन।

कसैले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने दुष्प्रचार गर्ने अपमान गर्ने मिथ्या सूचना द्वेषपूर्ण भाषण हेट स्पीचजस्ता भ्रामक टिकाटिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न हुँदैन र त्यस्तो टिका टिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केबल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनुपर्छ।

नियामकले के गर्ने गराउने?

राजनीतिक दल उम्मेदवार निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले प्रचलित कानून र आचारसंहिता विपरीत पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाइराख्न आदेश दिनुपर्छ।

राजनीतिक दल उम्मेदवार निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले यस आचार संहिता विपरीत मोटरसाइकल र्यालीजस्ता प्रचारात्मक कार्य गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई प्रहरीमा जिम्मा दिनुपर्छ।

दृश्य छायाङ्कनका हकमा

केन्द्रीय आचारसंहिता अनुगमन समिति वा जिल्ला आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लङ्घनका घटनासँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकता अनुसार भिडियो क्यामरासहितको छायाँकार परिचालन गरी वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्न सकिन्छ।

ग्रीन इलेक्शन

निर्वाचन प्रचारप्रसार गर्दा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ।

निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सवारीसाधन प्रयोग गर्दा इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेछ।

आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी दिन सकिने

कसैले यो आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा यस आचारसंहिताको परिच्छेद ८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची-४ बमोजिमको उजुरी दिन सक्नेछ।

आचार संहिता उल्लङ्घन गरेमा मौखिक रुपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ।

विद्युतीय माध्यम वा सूचना प्रविधिको प्रयोग गर्न सकिने

अनुगमन समितिका सदस्य वा अनुगमन टोली वा अनुगमन अधिकृत वा अनुगमनकर्ताले निर्वाचनको अनुगमन गर्ने सम्बन्धमा अपनाइने प्रक्रिया वा अनुगमनको प्रतिवेदन पेश गर्नका लागि विद्युतीय माध्यम वा सूचना प्रविधिको प्रयोग गर्न सक्नेछन्। 

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया