
काठमाडौं ।
दैलेखको आठबिस नगरपालिका-३ का तपेन्द्र शाहीले ट्रकमा भेटिएकी राउटे युवतीसँग अनुमतिबिना भिडियो खिचेर गत जेठमा टिकटकमा अपलोड गरे। भिडियो टिकटकबाट फेसबुकमा समेत फैलिँदै जाँदा ती युवतीको गोपनीयता र आत्मसम्मानमा गम्भीर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी पर्यो।
उजुरीपछि सुर्खेत प्रहरीले शाहीलाई पक्राउ गरी विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला अदालत सुर्खेतले उनलाई २०५२ असार १५ गते एक लाख रुपैयाँ धरौटीमा छाडिदिए पनि यस घटनाले राउटे समुदायका महिलामाथि बढ्दो डिजिटल जोखिम स्पष्ट पारेको छ।
यसअघि पनि २०७८ जेठमा सुर्खेतको गुर्भाकोट नगरपालिका-९, भुल्केका चमन घर्ती (जोगी) सहित तीन जनाले राउटे किशोरीलाई होटेलमा राखेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी जिल्ला अदालत सुर्खेतमा बुझाएको थियो। अदालतले दुई जना युवालाई सात/सात वर्ष र होटेल सञ्चालकलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो। अहिले उक्त मुद्दा उच्च अदालतमा पुगेको सुर्खेत अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
अनुमतिबिना खिचिएको भिडियो ‘मनोरञ्जन का नाममा सार्वजनिक गर्ने प्रवृत्तिले राउटे समुदायका किशोरी, युवती र महिलालाई निरन्तर खतरा निम्त्याइरहेको प्रहरीका अधिकारीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन भट्टराईले पछिल्लो केही वर्षयता सामाजिक सञ्जालमा राउटे महिलालाई लक्षित गरेको उत्तेजक भिडियो, उपहासजनक सामग्री र प्रलोभन देखाएर बनाइएका अशोभनीय क्लिपको सङ्ख्या बढिरहेको बताए।
राउटे समुदाय परम्परागत रूपमा घुमन्ते जीवनशैली, सामूहिक निर्णय र मुखियाको आदेशमै चल्ने सामाजिक संरचनामा आबद्ध छन्। आधुनिकीकरण र बजार प्रवेशसँगै आधुनिक प्रविधि, मोबाइल फोन र डिजिटल माध्यमसँग उनीहरूको सम्पर्क विस्तार बढ्दै गएको छ तर प्रविधिबारे ज्ञानको कमी, कानुनी चेतनाको अभाव, भाषिक कमजोरी र बाह्य समाजसँगको असन्तुलित सम्बन्धका कारण विशेष गरी महिला तथा युवती जोखिममा पर्ने गरेको पाइन्छ।
महिला तथा बालबालिका क्षेत्रका अधिकारकर्मी डिलकुमारी चन्दले भनिन्, “डिजिटल हिंसा केवल हाँसोको विषय होइन, यो कुनै व्यक्तिको सम्मान, मानसिक स्वास्थ्य र पहिचानसँग जोडिएको गम्भीर प्रश्न हो। खास गरी राउटे किशोरी वा युवतीलाई लक्षित गरी उपहासजनक रूपमा भिडियो बनाइँदा उनीहरूको आत्मसम्मानमै ठुलो चोट पुग्छ।”
राउटे समुदायका सवालमा काम गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले गत केही वर्षयता राउटे महिलामाथि डिजिटल माध्यम प्रयोग गरेर हुने दुर्व्यवहार उल्लेख्य रूपमा बढेको बताए। बस्तीमा जाँदा वा बाटोमा भेट्दा केही व्यक्तिले प्रलोभन देखाएर भिडियो खिच्ने, अनुमतिबिना सामाजिक सञ्जालमा हाल्ने, अनि आफू ‘भाइरल’ हुन चाहने मनसायले उनीहरूको जीवनमा चोट पुऱ्याउने काम भएको उनले बताए।
थापाका अनुसार यस्तो प्रवृत्ति न त समुदायले बुझ्न सक्छ, न त छिटो प्रतिकार गर्न। मुखियाले निर्देशन नदिएसम्म महिलाको पक्षमा आवाज उठाउन कठिन हुने र बाह्य समाजसँगको भाषा तथा कानुनी दुरीकै कारण उनीहरू झनै असुरक्षित रहने थापाको भनाइ छ।
राउटे समुदायमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री भन्छन्, “अन्य समुदायका मानिसलाई सामान्य जस्तो लाग्ने कुरा पनि राउटे महिलामाथि प्रयोग गर्दा उनीहरूको आत्मसम्मानमा गहिरो चोट पुग्छ।” कसैले सार्वजनिक रूपमा दुर्व्यवहार परे मुखिया वा पुरुष सदस्य आक्रोशित हुने र समुदायभित्र तनाव बढ्ने सम्भावना रहन्छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १ पुष २०८२, मंगलवार