नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने छ: अध्यक्ष वैद्य

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने छ: अध्यक्ष वैद्य
फाइल तस्बिर

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मिति यही मंसीर २५ गते रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन्। उनले विगत नौ महिनामा हासिल उपलब्धिहरु प्रस्तुत गर्दै पहिलो नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर सञ्चालन गरिनुले संस्थाको भूमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको बताइन्।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए।

सदस्यहरुले नाइमाले सकृय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए।

यसैगरी सभाले चालु आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम पारित गर्यो जसमा नियमित मोबिलिटी सम्वाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत बहस पैरवी, नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को आयोजना लगायतका विषयहरु सामेल छन्। नाइमाले आगामी मोबिलिटी एक्स्पो २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी समेत गरेको बताइएको छ।

सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डाटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ।

सम्भावित र योग्य ब्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता साधारण सभामा गरिएको संस्थाको भनाई छ। सभाको समापनका क्रममा अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार