
काठमाडौं ।
एआई डाटा सेन्टर निर्माणको होडबाजीले अन्य पूर्वाधार परियोजनामा नकारात्मक असर पार्न सक्ने देखिएको छ। ब्लुमबर्गका अनुसार डाटा सेन्टर निर्माण तीव्र बन्दै जाँदा सडक, पुल र अन्य पूर्वाधार सुधारका काम प्रभावित हुन सक्छन्।
सन् २०२५ मा राज्य र स्थानीय सरकारहरूले लगातार दोस्रो वर्ष पनि कीर्तिमानी मात्रामा ऋण बिक्री गरेका छन्। रणनीतिकारहरूका अनुसार आउँदो वर्ष करिब ६०० अर्ब डलर बराबरको ऋण बिक्री हुन सक्छ। तीमध्ये अधिकांश रकम पूर्वाधार परियोजनामा खर्च हुने अपेक्षा गरिएको छ।
जनगणना ब्युरोको तथ्यांकअनुसार निजी क्षेत्रबाट डाटा सेन्टर निर्माणमा हुने खर्च वार्षिक आधारमा ४१ अर्ब डलरभन्दा बढीको दरमा चलिरहेको छ, जुन राज्य र स्थानीय सरकारहरूले यातायात निर्माणमा गर्ने खर्चसँग करिब बराबर हो।
यी सबै परियोजनाहरूले निर्माण श्रमिकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ र त्यसमाथि अवकाशका कारण कामदार घट्दै जानु र राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइका कारण उद्योगले श्रम अभाव झेलिरहेको अवस्था छ।
आर्किटेक्चर र डिजाइन सफ्टवेयर निर्माता अटोडेस्कका प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु एनाग्नोस्टले ब्लुमबर्गलाई भने, “डाटा सेन्टर निर्माणले अन्य परियोजनाबाट स्रोत तान्छ भन्नेमा कुनै पनि शंका छैन। म पक्का भन्न सक्छु, तीमध्ये धेरै पूर्वाधार परियोजना मानिसहरूले चाहेजति छिटो अघि बढ्ने छैनन्।”
प्रकाशित: २९ मंसिर २०८२, सोमबार