प्रयोगकर्तालाई ह्याकिङ अभियानबाट जोगाउन एप्पल र गुगलद्वारा विभिन्न सफ्टवेयर अपडेट सार्वजनिक

Technology Khabar २८ मंसिर २०८२, आईतवार

प्रयोगकर्तालाई ह्याकिङ अभियानबाट जोगाउन एप्पल र गुगलद्वारा विभिन्न सफ्टवेयर अपडेट सार्वजनिक
फाइल तस्बिर

काठमाडौं ।

एप्पल र गुगलले आफ्ना प्रयोगकर्तालाई लक्षित गरिएको एउटा ह्याकिङ अभियानबाट जोगाउन विभिन्न सफ्टवेयर अपडेट सार्वजनिक गरेका छन्। बुधबार गुगलले आफ्नो क्रोम ब्राउजरमा रहेका केही सुरक्षा कमजोरीका लागि अपडेट जारी गरेको थियो। तीमध्ये एउटा कमजोरीलाई कम्पनीले समयमै सुधार गर्नुअघि नै ह्याकरहरूले सक्रिय रूपमा दुरुपयोग गरिरहेको गुगल ले जनाएको थियो।

सामान्यतया गुगलले यस्ता घटनामा थप विवरण दिने गरे पनि यस पटक कम्पनीले सुरुमा कुनै अतिरिक्त जानकारी दिएको थिएन।

तर शुक्रबार गुगलले आफ्नो सुरक्षा सूचनामा अपडेट गर्दै उक्त कमजोरी एप्पल को सुरक्षा इन्जिनियरिङ टोली र गुगलको थ्रेट एनालिसिस ग्रुपले पत्ता लगाएको जनाएको छ।

टेकक्रञ्चका अनुसार थ्रेट एनालिसिस ग्रुपका अनुसन्धानकर्ताले मुख्य रूपमा सरकारी ह्याकर र भाडामा चलाइने स्पाइवेयर बनाउने समूहको गतिविधि ट्र्याक गर्ने भएकाले यो ह्याकिङ अभियान सरकार समर्थित ह्याकरले सञ्चालन गरेको हुन सक्ने संकेत मिलेको छ।

यसै समयमा एप्पल ले पनि आईफोन, आईप्याड, म्याक, भिजन प्रो, एप्पल टीभी, एप्पल वाच र सफारी ब्राउजरलगायत आफ्ना मुख्य उत्पादनका लागि सुरक्षा अपडेट जारी गरेको छ।

आईफोन र आईप्याडका लागि जारी गरिएको सुरक्षा सूचनाअनुसार एप्पलले दुईवटा कमजोरी सुधार गरेको छ। साथै आईओएस २६ भन्दा पुराना संस्करण चलाइरहेका केही लक्षित प्रयोगकर्तामाथि “अत्यन्तै जटिल आक्रमणमा” यी कमजोरी प्रयोग भएको हुन सक्ने जानकारी एप्पललाई भएको बताएको छ।

यस प्रकारको भाषा एप्पलले प्राय: कम्पनीलाई आफ्ना केही प्रयोगकर्ता ‘जीरो-डे’ कमजोरी प्रयोग गरेर ह्याकरको निशानामा परेका थिए भन्ने थाहा भएपछि प्रयोग गर्छ। जीरो-डे भन्नाले सफ्टवेयर निर्माता स्वयंलाई थाहा नहुँदै दुरुपयोग गरिने कमजोरीलाई जनाइन्छ।

यस्ता घटनामा प्रायः एनएसओ ग्रुप वा प्यारागन सलुशन्न जस्ता कम्पनीले बनाएका ह्याकिङ टुल र स्पाइवेयर प्रयोग गरेर सरकारी ह्याकरले पत्रकार, असन्तुष्ट समूहका सदस्य तथा मानवअधिकार अभियन्तालाई लक्षित गर्ने गरेका उदाहरणहरू छन्।

यस विषयमा प्रतिक्रिया लिन गरिएको अनुरोधमा एप्पल र गुगलले तत्काल कुनै जवाफ दिएका छैनन्।

प्रकाशित: २८ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया