एप्पलद्वारा आईओएस २६.२ को साथ लिक्विड ग्लासको पारदर्शिता कम गर्न अर्को टुल सार्वजनिक

  • Technology Khabar | २८ मंसिर २०८२, आईतवार
एप्पलद्वारा आईओएस २६.२ को साथ लिक्विड ग्लासको पारदर्शिता कम गर्न अर्को टुल सार्वजनिक
बिङ एआईमार्फत्

काठमाडौं ।

एप्पलले आईओएस २६.२ को साथ लिक्विड ग्लासको पारदर्शिता कम गर्न अर्को टुल सार्वजनिक गरेको छ। यो अपडेट हालै उपलब्ध भएको हो। नयाँ अपडेटपछि प्रयोगकर्ताले लक स्क्रीनमा देखिने घडीको पारदर्शिता नियन्त्रण गर्न सक्नेछन्।

यसअघि लिक्विड ग्लासको डिजाइनले आईफोन तथा अन्य एप्पल डिभाइसमा लेखाइ पढ्न गाह्रो बनाएको भन्दै प्रयोगकर्ताबाट गुनासो आएपछि एप्पलले प्रणालीभर प्रयोग हुने लिक्विड ग्लास एलिमेन्टको अपारदर्शिता नियन्त्रण गर्न स्लाइडर उपलब्ध गराएको थियो।

आईओएस २६ सँगै सुरु गरिएको लिक्विड ग्लास डिजाइन भाषाले बटन, स्लाइडर र नोटिफिकेसनजस्ता इन्टरफेस तत्वलाई अर्धपारदर्शी बनाएको छ। यी तत्वले प्रकाशलाई परावर्तन गर्ने भएकाले काँचजस्तै देखिन्छन्।

टेकक्रञ्चका अनुसार एप्पलका अपरेटिङ सिस्टमलाई आधुनिक बनाउने र भविष्यमा एआई स्मार्ट चश्माजस्ता डिभाइसका लागि तयारी गर्ने उद्देश्यले ल्याइएको लिक्विड ग्लासले मिश्रित प्रतिक्रिया पाएको थियो।

केही प्रयोगकर्ताले यसले नोटिफिकेसन वा एप्पल म्युजिकमा कलाकारको नाम जस्ता महत्त्वपूर्ण जानकारी पढ्न गाह्रो बनाएको गुनासो गरेका थिए। त्यसपछि एप्पलले आईओएस २६.१ मा लिक्विड ग्लासलाई बढी फ्रस्टेड’ देखिने बनाउन सकिने टुल उपलब्ध गराएको थियो।

घडीको ‘शीशामय छवि’ नियन्त्रण गर्ने नयाँ स्लाइडरसँगै एप्पलले लिक्विड ग्लासको पारदर्शिता फेरि घटाएको छ। तर यो पटक प्रणालीभरि लागू हुने परिवर्तन होइन, प्रयोगकर्ताले आफैं मिलाउन सक्ने फिचरका रूपमा ल्याइएको हो। यी परिवर्तनले लिक्विड ग्लास डिजाइन पूर्ण रूपमा सफल भएकोमा एप्पल आफैं पनि शतप्रतिशत ढुक्क नभएको संकेत गर्न सक्छ।

यस परिवर्तनको समय पनि महत्त्वपूर्ण मानिएको छ। यही महिनाको सुरुमा लिक्विड ग्लास डिजाइनको नेतृत्व गर्ने एप्पलका डिजाइन कार्यकारी एलन डाइ कम्पनी छाडेर मेटा गएको पुष्टि भएको थियो। उनलाई जबर्जस्ती हटाइएको संकेत नदेखिए पनि एप्पलले उनको स्थानमा लामो समयदेखि कम्पनीमा रहेका डिजाइनर स्टिफन लेमेलाई नियुक्त गरेको छ।

डाइको तुलनामा लेमेले इन्टरफेस र इन्टरएक्सन डिजाइनमा लामो अनुभव राख्छन्, जुन लिक्विड ग्लास सुधारका लागि आवश्यक सीप भएको तर्क गरिएको छ। आईओएस २६.२ मा लिक्विड ग्लास बाहेक अन्य नयाँ फिचर पनि थपिएका छन्।

अब प्रयोगकर्ताले आफ्नो सम्पर्क सूचीमा नभएका व्यक्तिसँग फाइल वा फोटो सेयर गर्न एयरड्रप कोड बनाउन सक्छन्। यसरी सेयर गरिएका व्यक्ति ३० दिनसम्म ‘ज्ञात’ एयरड्रप सम्पर्कको रूपमा रहनेछन्। यो फिचर कामकाजी वातावरण वा अन्य आवश्यक अवस्थामा उपयोगी हुन सक्छ।

आईओएस २६.२ मा रिमाइण्डर्स एपले अलार्म सपोर्ट पाएको छ। एप्पल न्युजमा तलको नेभिगेसन बारमा फलोइङ भन्ने ट्याब थपिएको छ र अन्य नेभिगेसन परिवर्तन गरिएको छ। एप्पल म्युजिकमा अफलाइन लिरिक्स उपलब्ध भएको छ। पडकास्ट्स एपमा पोडकास्ट एपिसोडका लागि एआई-ले बनाएका च्याप्टर, अन्य शोहरू लिंक गर्ने पडकास्ट मेन्शन फिचर तथा अन्य सुधार थपिएका छन्।

एप्पल वाच प्रयोगकर्ताले अब आफ्नो निद्राको गुणस्तर र लक्ष्य पूरा भए/नभएको आधारमा स्लीप स्कोर पनि पाउनेछन्। यसैबीच एप्पलले शुक्रबार आईफोन, आईपुयाड, म्याक, एप्पल टीभी र एप्पल वाच लगायतका मुख्य उत्पादनका लागि महत्त्वपूर्ण सुरक्षा अपडेट पनि सार्वजनिक गरेको छ। यी अपडेट सक्रिय ह्याकिङ अभियानमा प्रयोग भइरहेका कमजोरीहरू समाधान गर्न ल्याइएका हुन्।

प्रकाशित: २८ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...