Technology Khabar २७ मंसिर २०८२, शनिबार
काठमाडौं ।
विराटनगर महानगरपालिका-९स्थित शिक्षादीप कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सूचना प्रविधिमा आधारित जीवन उपयोगी रोबोटहरू निर्माण गरी प्रदर्शन गरेका छन्।
कलेजद्वारा आयोजित १३ दिने नवप्रवर्तन कार्यशालाको आज अन्तिम दिन विद्यार्थीले विभिन्न एप र बजार व्यवस्थापनसम्बन्धी प्रविधिका आठओटा ढाँचा गरी प्रस्तुत गरेका हुन्।
प्राचार्य ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोड हिमालय र पिसिपीएस कलेज काठमाडौँसँगको सहकार्यमा सूचना प्रविधि (आइटी)को क्षेत्रमा काम गरिरहेको बताउँदै विद्यार्थीको मेहनतले जीवनउपयोगी रोबोटहरू निर्माण गरी प्रदर्शन गरिएको जानकारी दिए।
कलेजका सञ्चालक रामचन्द्र अधिकारीले कार्यशालामा विद्यार्थीले आगन्तुकलाई मिठो बोलेर, शिर झुकाएर, श्रद्धापूर्वक स्वागत गर्ने रोबर्ट तयार गरी प्रर्दशनी गर्नुका साथै सवारीसाधन सञ्चालनका क्रममा अवरोध आए छलिने, तर्किने र केही समय रोकिएर अघि बढ्न जानकारी दिने रोबर्ट प्रदर्शन गरिएको बताए।
उनका अनुसार कार्यशालामा ‘एन्टी बङ्किङ एप’, ‘एआई भ्वाइस’ सहायक, अनुहार पहिचान उपस्थिति ट्रयाकर तयार गरिएको हो । वाणिज्य शास्त्र सङ्कायका विद्यार्थीले बजार व्यवस्थापनसम्बन्धी प्रविधिका आठ वटा ढाँचा तयार गरी प्रस्तुत गरेका छन्। यसअन्तर्गत पानी व्यवस्थापन, तरकारी व्यवस्थापन, ट्युटर एप, अनलाइन यातायात बुकिङ, एग्रो कनेक्टलगायत रहेका सञ्चालक अधिकारीले जानकारी दिए।
विद्यार्थीहरूलाई कोड हिमालयका आशिष प्रसाईं, पिसिपीएस कलेजकी कृपा श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए। कार्यशालामा कम्प्युटर र विज्ञान सङ्कायका ६२० र व्यवस्थापन सङ्कायका १३४ विद्यार्थी सहभागी थिए । रासस
प्रकाशित: २७ मंसिर २०८२, शनिबार