Technology Khabar २७ मंसिर २०८२, शनिबार
काठमाडौं ।
रकेट ल्याबले स्पेस प्रक्षेपणको क्षेत्रमा अझ ठूलो हिस्सा लिन तयारी गरिरहेको छ। कम्पनीले नयाँ रकेट ‘न्यूट्रोन’को माथिल्लो भागमा जडान हुने फेयरिङका अन्तिम योग्यता परीक्षण हालै पूरा गरेको छ। आंशिक रूपमा पुनःप्रयोग योग्य यो रकेट पहिलोपटक आगमी वर्षको सुरुआतमा उड्ने अपेक्षा गरिएको छ।
“हङ्ग्री हिप्पो” शैलीको यो फेयरिङ क्ल्यामसेलजस्तै खुल्ने–बन्द हुने संरचना हो, जुन पुनःप्रयोगयोग्य लन्च वाहनका लागि नयाँ अवधारणा मानिन्छ। रकेट ल्याबको साना उपग्रहका लागि बनाइएको तर खर्चिला ‘इलेक्ट्रोन’ रकेटले राम्रो बजार बनाइरहेको भए पनि न्यूट्रोन स्पेसएक्सको शक्तिशाली ‘फाल्कन ९’ सँग प्रतिस्पर्धा गर्न बनाइएको हो।
स्पेसएक्सले पनि फाल्कन ९ का फेयरिङ पुनःप्राप्ति र मर्मतको व्यवस्था गरेको छ तर दुई भागमा छुट्टिने ती फेयरिङहरू उडानपछि अलग–अलग रूपमा पृथ्वीमा खस्ने गरी डिजाइन गरिएका छन्।
न्यूट्रोनमा भने पहिलो चरणको माथिल्लो भाग ठूलो मुखजस्तै खुल्नेछ, जसले दोस्रो चरण र पेलोडलाई बाहिर निकाल्छ, त्यसपछि दुवै भाग फेरि बन्द भएर पृथ्वीको वायुमण्डल हुँदै झरेर अवतरण गर्ने र पुनःउडानमा प्रयोग हुने योजना छ।
अब परीक्षण पूरा भइसकेपछि फेयरिङको सेक्शन भर्जिनियाको मिड–अटलान्टिक रिजनल स्पेसपोर्ट पठाइएको छ, जहाँ यसलाई रकेटसँग जडान गरिनेछ र त्यसपछि पहिलो उडानका लागि तयारी हुनेछ।
“न्यूट्रोनजस्तो रकेट पहिले कहिल्यै बनेको छैन। हामी यसलाई यस्तो गति र लागतमा निर्माण गरिरहेका छौँ, जसले आजको उद्योगलाई आवश्यक नवप्रवर्तन र प्रतिस्पर्धा ल्याउनेछ,” रकेट ल्याबका नटरनका उपाध्यक्ष शॉन डी’मेलोले डिसेम्बर ८ मा जारी वक्तव्यमा भने।
कम्पनीले न्यूट्रोनलाई “विश्वकै सबैभन्दा ठूलो कार्बन कम्पोजिट लन्च वाहन”को रूपमा प्रस्तुत गरेको छ। नयाँ रकेटको फेयरिङले उडानका लागि तयार घोषित हुनुअघि धेरै कडा परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ।
क्यालिफोर्नियास्थित परीक्षण केन्द्रबाट पठिनुअघि फेयरिङलाई २,७५,००० पाउन्ड बाह्य बलमा परिक्षण गरियो, जसले उडानका बेला पर्ने गतिशील दबाबको नक्कल गर्छ। यसका साथै, खुल्ने–बन्द हुने प्रणालीलाई आवश्यकताभन्दा तीव्र गतिमा बारम्बार चक्र गराइयो, सफ्टवेयर एकीकरण परीक्षण गरियो, र डिजाइन सीमाभन्दा १२५% बढी लोड सहन सक्ने प्रमाणित गरियो।
प्रकाशित: २७ मंसिर २०८२, शनिबार