एपीआईसीटीए अवार्ड्स २०२५ मा नेपालको कताहो डिजिटल एड्रेस सिस्टमलाई दुई विधामा पुरस्कार

Technology Khabar २७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि पुरस्कार कार्यक्रम एसिया प्यासिफिक आईसीटी अलायन्स(एपीआईसीटीए) अवार्ड्स २०२५ ताइवानको काओसिओङ सहरमा भव्यताका साथ सम्पन्न भयो।

यसमा वर्ष १६ सदस्य अर्थतन्त्रका २५० भन्दा बढी उत्कृष्ट परियोजनाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। यही अन्तर्राष्ट्रिय मञ्चमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै डिजिटल नवप्रवर्तनको क्षेत्रमा आफ्नो बलियो उपस्थिति दर्ता गराएको छ।

नेपालमा विकास गरिएको कताहो डिजिटल एड्रेस सिस्टमले कम्युनिटी सर्भिसेज र रिसर्च एण्ड डेभलपमेन्ट प्रोजेक्ट अफ द इयर दुवै विधामा द्वितीय उपविजेताको उपाधि जित्न सफल भयो। यो उपलब्धिले नेपालको स्टार्टअप इकोसिस्टम र प्राविधिक नवप्रवर्तन क्षमतालाई विश्वमाझ गर्वका साथ प्रस्तुत गरेको छ।

कताहो नेपालको परम्परागत ठेगाना प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने नविनतम् समाधान हो। हालसम्म देशभरका १५ भन्दा बढी स्थानीय तहमा यो प्रणाली कार्यान्वयनमा आइसकेको छ भने काठमाडौँ महानगरपालिका–२६ ९लैनचौर० लगायत राजधानीका प्रमुख क्षेत्रहरूमा पूर्ण रूपमा सञ्चालित छ।

सरल र समावेशी डिजिटल ठेगाना प्रदान गर्ने यो प्रविधिले सरकारी सेवा प्रवाह, ई–कमर्स, लजिस्टिक्स तथा आपत्कालीन सेवालाई अत्यन्त सहज बनाउँदैछ।

नेपालको प्रतिनिधित्व गर्दै ताइवान पुगेको टोलीमा कताहो डिजिटल एड्रेस, क्रिम्जन टेक र आल्पस टेक्नोलोजीका नवप्रवर्तकहरू सहभागी थिए। यसैगरी एपीआईसीटीएको अन्तर्राष्ट्रिय निर्णायकका  रूपमा नेपालबाट ऋचन श्रेष्ठ, दिपेन चापागाईं, नारायण कोइराला र नास-आईटीकी संयोजक सोनिया श्रेष्ठ समेतले सहभगिता जनाएका थिए।

कताहो डिजिटल एड्रेस सिस्टम नेपालका चर्चित नवप्रवर्तक संस्था रामलक्ष्मण ग्रुप अन्तरगत एड्रेसग्राफ नेपाल प्रालिद्वारा विकास गरिएको परियोजना हो।

यो प्रणालीले नेपालको ठेगाना व्यवस्थापनमा देखिएको दीर्घकालीन समस्यालाई समाधान गर्दै हरेक घरलाई घर नम्बर कोड प्रदान गर्दछ, यसको प्रयोगले पालिकाहरुले आफ्नो स्थानीय तहका घरहरुमा ठेगाना बनाउन सक्छन भने आम व्यक्तिहरुले पनि आफ्नो घरको निशुल्क ठेगाना प्लेट तयार गर्न सक्दछन्

प्रकाशित: २७ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया