Technology Khabar २५ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
दक्षिण कोरियाको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी कुपाङका सीईओ पार्क डे-जुनले राजीनामा दिएका छन्। कम्पनीमा भएको ठूलो डाटा उल्लङ्घनपछि बढ्दै गएको जनआक्रोशका कारण उनले जिम्मेवारी वहन गर्दै पद छोडेका बुझिएको छ।
कुपाङले विज्ञप्तिमा जनतामा चिन्ता उत्पन्न गरेकोमा “गहिरो क्षमायाचना” व्यक्त गर्यो। कम्पनीले ग्राहकको विश्वास पुनः स्थापित गर्ने र अझ कडा सुरक्षात्मक उपायहरू अपनाउने प्रतिबद्धता पनि जनाएको छ।
कम्पनीका अनुसार अब अस्थायी रूपमा अमेरिकी मुख्यालयका प्रमुख प्रशासनिक अधिकृत हेरोल्ड रोजर्सले सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
कुपाङको कमुपनीमा भएको डाटा उल्लङ्घन दक्षिण कोरियाका सबैभन्दा ठूलो घटनामध्ये एक मानिएको छ, जसमा ३३ मिलियनभन्दा धेरै ग्राहकको व्यक्तिगत विवरण चुहिएको थियो।
यो लीक जूनमा सुरु भएको विश्वास गरिन्छ। कम्पनीका अनुसार ग्राहकका नाम, इमेल, फोन नम्बर, ढुवानी ठेगाना र केही अर्डर इतिहास फिँजिएका हुन्, तर भुक्तानसम्बन्धी विवरण र लगइन प्रमाणपत्र भने सुरक्षित छन्।
पार्कको राजीनामा दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले बुधवारै कम्पनीविरुद्ध पूर्ण छानबिन गर्ने र कानुन उल्लंघन भए कडा कारबाही गर्ने घोषणा गरेपछि आएको हो। यसअघि यो घटनासम्बन्धी अनुसन्धानका क्रममा दक्षिण कोरियाली प्रहरीले सिओलस्थित कम्पनीको कार्यालयमा छापा मारेको थियो।
प्रकाशित: २५ मंसिर २०८२, बिहीबार