
काठमाडौं ।
माइडियाले चीनको ग्वाङ्झाउमा आयोजित एक कार्यक्रममा मिरो यू नामक आफ्नो अर्को पुस्ताको ह्युमनोइड रोबोट आधिकारिक रूपमा अनावरण गरेको छ।
सिक्स–आर्म ह्विल–लेग डिजाइन भएको रोबोट विश्वको पहिलो रोबोट भएको र जटिल औद्योगिक कार्यहरूका साथै उच्च–दक्षता स्वचालनको लागि बनाइएको बुझिएको छ।
मिरो यू माइडियाको अघिल्लो पाङ्ग्रा भएको ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण भएको बताइएको छ। पुरानो मोडेलले अटोनोमस मोबाइल रोबोट्स (एएमआरएस), सिङ्गल–आर्म फोर–ह्विल बोट्स, कुका रोबोटिक प्रणालीहरू र मानव कामदारहरूसँग काम गरेको उल्लेख गरिएको छ। नयाँ मिरो यू चाँडै नै सञ्चालन दक्षतालाई अझ बढाउन यो सेटअपमा सामेल हुने रिपोर्ट गरिएको छ।
रोबोटले मल्टिटास्किङ र कारखाना स्वचालन दक्षतालाई लक्षित गर्दछः
माइडियाका उपाध्यक्ष र सीटीओ वेई चाङले मिरो यू कम्पनीको ह्युमनोइड रोबोट लाइनअपमा तेस्रो पुस्ताको मोडेल भएको पुष्टि गरे।
रोबोटले भर्टिकल (ठाडो) लिफ्टिङ र ३६०–डिग्री इन–प्लेस रोटेशनलाई समर्थन गर्दछ। रोबोटमा हाई–प्रसिजन नियन्त्रण र विभिन्न कार्यहरूको लागि फास्ट–स्विचिङ्ग इण्ड–इफेक्टर मोड्युलहरू सहित ६ ओटा बायोनिक मेकानिकल आर्महरू (हात) छन्। साथै माइडियाले पूर्ण प्रविधि स्ट्याक इन–हाउस विकास गरेको उल्लेख गरिएको छ।
माइडियाले २०२५ को अन्त्यसम्ममा उक्सीमा रहेको आफ्नो हाई–इण्ड वाशिङ्ग मेसिन कारखानामा मिरो यू तैनाथ गर्ने योजना बनाएको छ। रोबोटले ट्याक्ट समय सुधार गर्ने र उत्पादन लाइन समायोजन दक्षता ३० प्रतिशत सम्म बढाउने अपेक्षा गरिएको छ।
वेईले माइडियाको ह्युमनोइड रोबोटिक्स कार्यक्रमको लागि फराकिलो रोडम्याप पनि प्रस्तुत गरे। औद्योगिक–केन्द्रित ‘मिरो’ सिरिजले तीन पुनरावृत्तिहरू पूरा गरिसकेको छ भने व्यावसायिक र आवासीय वातावरणलाई लक्षित ‘मिला’ सिरिज अन्तिम परीक्षणमा रहेको बताइएको छ।
माइडियाले ग्राहक मार्गदर्शन र अन्तरक्रियात्मक उत्पादन प्रदर्शनको लागि २०२६ मा आफ्नो अफलाइन अनुभव स्टोरहरूमा मिला रोबोटहरू प्रस्तुत गर्ने योजना बनाएको छ।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्समा लगानी गर्न जारी राख्ने बताएको छ। माइडियाको दीर्घकालीन रणनीतिमा ह्युमनोइड रोबोटहरूको ठूलो मात्रामा तैनाती प्रमुख प्राथमिकता रहेको छ।
युनिट्रीले पनि हालै भिजन, ग्रिपिङ र सेल्फ–लर्निङ क्षमताहरू सहितको आफ्नो पहिलो पाङ्ग्रायुक्त ह्विल्ड ह्युमनोइड रोबोट अनावरण गरेको छ। साथै डोबोटको नयाँ १,००० अमेरिकी डलर मूल्य पर्ने रोबोट कुकुर बजारमा सबैभन्दा स्मार्ट रोबोटिक घरपालुवा जनावरहरू मध्ये एक बन्न गइरहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ मंसिर २०८२, मंगलवार