मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ६८ लाख हाराहारी पुगे: टेलिकमले उल्लेख्य थप्यो, एनसेलले गुमायो

Technology Khabar २३ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या असोज मसान्तसम्म २ करोड ६८ लाख हाराहारी पुगेको छ।

यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ३० लाख ५० हजार ३९५ ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ३७ लाख ४६ हजार ४६८ रहेको थियो।

२०८२ असोज महिनाको समग्र २ करोड ६७ लाख ९६ हजार ८६३ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५० लाख १५ हजार ५४१ रहेको छ।

यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख २३ हजार ८२ तथा फोरजीका १ करोड ४२ लाख ९२ हजार ४५९ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता  १ करोड, १७ लाख, ८१ हजार १२२ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९२ हजार २१० र फोरजी १ करोड १६ लाख ८३ हजार ११२ रहेका छन्।

टेलिकमले उल्लेख्य थप्यो, एनसेलले अत्यधिक थप्यो 

फोरजी

२०८१ असोज मसान्तको तुलनामा २०८२ असोज मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।

फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले २७ लाख ६९ हजार ८१८ ग्राहक थपेको छ। २०८१ असार मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड १५ लाख २२ हजार ६४१ थिए भने २०८२ असारमा आइपुग्दा यो सङ्ख्या १ करोड ४२ लाख ९२ हजार ४५९ मा आइपुगेको छ।

एनसेलले भने एक वर्षमा १ लाख २० हजार २९२ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ। २०८१ असोज मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड १८ लाख ३ हजार ४०४ थिए भने २०८२ असोजमा आइपुग्दा यो सङ्ख्या १ करोड १६ लाख ८३ हजार ११२ मा आइपुगेको छ।

थ्रीजी

२०८२ असोज महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य अर्थात् ४ लाख  ८६ हजार ११३ ले थपेको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख २३ हजार ८२ रहेका छन्। यो आँकडा २०८१ असोज मसान्तसम्म २ लाख ३६ हजार ९६९ रहेको थियो।

एनसेलले भने उल्लेख्य ८५ हजार २४४ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९८ हजार २१० मा झारेको छ। यो आँकडा २०८१ असोज मसान्तसम्म १ लाख ८३ हजार ४५४ रहेको थियो।

समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकमले  थ्रीजी र फोरजी दुवैमा थपेको छ भने त्यसको ठिक उल्टो एनसेलले भने थ्रीजी र फोरजी दुवैका प्रयोगकर्ता उल्लेख्य सङ्ख्यामा गुमाएको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २३ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया