Technology Khabar २२ मंसिर २०८२, सोमबार
काठमाडौं ।
कृत्रिम बौद्धिकता (एआई) लाई शिक्षा, स्वास्थ्य सेवा र कृषिलगायत बहुपक्षीय सुमन्नतिमा लगाउन नेपालले ढिला गर्न नहुने विज्ञले सुझाव दिएका छन् । एआईको नियमन निम्ति विश्वव्यापी रूपमा अनेक बहस चलिरहेकाले यसको नेपालमा बहुपक्षीय प्रयोगका निम्ति राष्ट्रिय स्वार्थ, सुरक्षा, सही सूचनासमेतमा ध्यान दिनुपर्नेसमेत सुझाइएको छ।
एसोसिएसन अफ फर्मर एम्बासडर अफ नेपाल (एफक्यान), कूटनीति तथा विकास केन्द्र (सिडिडी) र फर्मर इन्टरनेसनल प्रोफेसनल्स अफ मल्टिनेसनल्स अर्गनाइजेनन्स (फिप्मो) को संयुक्त आयोजनामा एआई
र यसको प्रयोगसम्बन्धी विमर्श कार्यक्रममा विज्ञहरूले एआईका सही प्रयोगले राष्ट्रिय विकासमा तीव्रता दिन सक्ने बाटो देखाए।
कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले एआई विश्वव्यापी प्रसार र प्रयोगमा कुनै निश्चित मुलुक तथा कम्पनीको हित प्रवर्धनभन्दा सबैका निम्ति सर्वसुलभ हुनुपर्ने बताए।
मदन भण्डारी विश्वविद्यालयका प्राध्यापक डा. सुरेश मानन्धरले एआई प्रवर्धनले नेपालमा कृषिको विकास गर्न, गुणात्मक शिक्षा दिन र स्वास्थ्य क्षेत्रलाई अझ सर्वसुलभ बनाउन सकिने भन्दै त्यसका निम्ति सरकारले नीतिगत फराकिलो मार्गदर्शनमा गर्नुपर्ने सुझाव दिए।
एआईको प्रयोग अर्थतन्त्रका विकास, विदेशी लगानी आकर्षित गर्नसमेत उपयोगी हुने सुझाव दिइएको थियो। विज्ञ विहन राणाले जलविद्युत् प्रचुर हुँदै गएको नेपालमा यसको प्रयोगले लगानी ल्याउन, रोजगारी प्रवर्धन गर्न र नेपालमै बसेर विदेशका काम गर्न सकिने बताए।
अर्का विज्ञ अनिल रघुवंसीले एआई सही प्रयोगले मात्र यसको बहुपक्षीय प्रतिफल प्राप्त हुने भन्दै जताभावी प्रयोगले प्रतिकूल असरप्रतिसमेत सचेत गराए।
कार्यक्रममा सडिडीका उपाध्यक्ष डा. मित्रबन्धु पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका विज्ञ तथा पूर्व कूटनीतिज्ञबिच एआईबारे हुने विमर्शले यसको सही प्रयोगको दिशानिर्देश गर्न सहज हुन सक्ने बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २२ मंसिर २०८२, सोमबार