Technology Khabar २२ मंसिर २०८२, सोमबार
काठमाडौं ।
एप्पल र गुगलले विश्वभरका प्रयोगकर्तालाई नयाँ साइबर खतरा चेतावनीहरू पठाएका छन्। यसबारे कम्पनीहरूले यसै हप्तामा पुष्टि गरेका हुन्। यी दुई कम्पनीले आफ्ना ग्राहकलाई निगरानीजन्य खतराबाट जोगाउन गरिरहेको पछिल्लो प्रयासको रूपमा यी सूचना जारी गरिएको हो।
एप्पल र अल्फाबेट स्वामित्वको गुगल राज्य–समर्थित ह्याकरबाट निशाना बनाइएका प्रयोगकर्तालाई नियमित रूपमा चेतावनी दिने केही प्रविधि कम्पनीहरु हुन्।
रोयटर्सका अनुसार एप्पलले चेतावनीहरू डिसेम्बर २ मा पठाइएको बताएको छ तर सम्भावित ह्याकिङ गतिविधिबारे धेरै विवरण दिएको छैन। कति प्रयोगकर्ता लक्षित भए वा कसले निगरानी गरिरहेको ठानिएको हो भन्ने प्रश्नको पनि एप्पलले उत्तर दिएको छैन। कम्पनीले भने, “अहिलेसम्म हामीले १५० भन्दा बढी देशका प्रयोगकर्तालाई सूचना पठाइसकेका छौं।”
एप्पलको यो जानकारी गुगलले डिसेम्बर ३ मा गरेको सूचनापछि आएको हो, जसमा गुगलले इन्टेलेक्सा स्पाइवेयरद्वारा निशाना बनाइएका सबै ज्ञात प्रयोगकर्तालाई चेतावनी दिएको जनाएको थियो। गुगलका अनुसार यो स्पाइवेयर पाकिस्तान, कजाकस्तान, अङ्गोला, इजिप्ट, उजबेकिस्तान, साउदी अरब र ताजिकिस्तानसहित धेरै देशका “केही सय खाताहरू” मा प्रयोग गरिएको थियो।
गुगलले इन्टेलेक्सा भन्ने साइबर इन्टेलिजेन्स कम्पनीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको भए पनि, कम्पनी “नियमनबाट बचेर अझै सक्रिय रहेको” बताएको छ। इन्टेलेक्सासँग सम्बन्धित कार्यकारीहरूले प्रतिक्रिया दिएका छैनन्।
यसअघि पनि यस्ता चेतावनीहरूपछि धेरै समाचार बनेका छन् र सरकारी निकायहरूले छानबिन सुरु गरेका छन्, जसमा युरोपेली संघ पनि पर्छ। युरोपेली संघका उच्च अधिकारीहरूलाई पनि विगतमा स्पाइवेयरले निशाना बनाएको थियो।
क्यानडाको डिजिटल निगरानी समूह ‘सिटिजन ल्याब’ का अनुसन्धानकर्ता जोन स्कट–रेलटनका अनुसार यस्ता चेतावनीहरूले पीडितलाई सचेत गराएर साइबर जासूसलाई प्रत्यक्ष प्रभाव पार्छ। उनका अनुसार “यस्ता चेतावनीहरू प्रायः स्पाइवेयर दुरुपयोगबारे वास्तविक जवाफदेहितामा पुग्ने लामो छानबिनको पहिलो चरण” बन्ने गर्छन्।
प्रकाशित: २२ मंसिर २०८२, सोमबार